
धनुषा, १४ कात्तिक । यातायात व्यवस्था कार्यालय जनकपुरमा भएको गम्भीर लापरबाही सतहमा आएको छ । जनकपुरधामस्थित धानखेतमा करिब तीय सय स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) फेला परेका छन् ।
यातायात व्यवस्था कार्यालयले सबै लाइसेन्स सक्कली भएको पुष्टि गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका– १४ स्थित यातायात व्यवस्था कार्यालय जनकपुरदेखि झन्डै दुई सय मिटर पश्चिमतर्फ खेतमा यातायात व्यवस्था विभागले पठाएका लाइसेन्स फेला परेका हुन् ।
खेतमा धान काट्न गएका स्थानीय महिलाले बुधबार छरिएको अवस्थामा लाइसेन्स देखेका थिए । पछि उनीहरूले संकलन गरी सबै लाइसेन्स यातायात व्यवस्था कार्यालय जनकपुरमा बुझाएका थिए ।
धानखेतमा लाइसेन्स फेला परेको स्थान देखाउँदै एक महिलाले भनिन्, ‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स छरिएको अवस्थामा देख्यौंँ, सबै संकलन गरेर यातायातका कर्मचारीलाई बुझाएका छौंँ ।’
यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि नै प्रश्न उठेको छ ।
यातायात कार्यालय जनकपुरधामका अधिकृत वीरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्वीकार गर्दै तीन सय थान भेटिएको जानकारी दिए । अधिकृत साहले कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्ने र यसबारे जिल्ला प्रशासन कार्यालय धनुषालाई जानकारी गराएकाे जानकारी दिए ।
यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ । तिनले लाइसेन्ससहितका कागजात बोकेर आफूखुशी ओहोरदोहोर गरे पनि यातायात कार्यालयका कर्मचारी मूकदर्शक बन्ने गरेको सेवाग्राही बताउँछन् ।