
काठमाडौँ, ३ फागुन : कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बेरुजु रकम ८ अर्ब २० करोडभन्दा बढी देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–०८० को दोस्रो त्रैमासिक अवधिको प्रगति समीक्षामा उक्त बेरुजु रकम देखाइएको हो ।
मन्त्रालयले दोस्रो त्रैमासिकको अवधिमा न्यून मात्र बेरुजु फर्छ्योट भएको जनाएको छ । मन्त्रालयका अनुसार गएको छ महिनामा ९२ करोड ७३ लाख ४६ हजार रुपैयाँ मात्र बेरुजु फर्छ्योट भएको हो । जुन कूल बेरुजु रकमको ११.३० प्रतिशत मात्र हो । जसमा मन्त्रालयले ७ अर्ब २७ करोड ७४ लाख ३१ हजार रकम बेरुजु फर्छ्योट गर्न बाँकी छ । मन्त्रालयले २ अर्ब २२ करोड ९९ लाख रकम लगत कट्टा तथा सम्परीक्षणका लागि पेश गरेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताएका छन् । पेश भएको बेरुजु रकम फर्छ्योट भई आएमा फर्छ्योट प्रतिशत ४८ं.७ हुने अनुमान गरिएको छ ।
आर्थिक प्रशासन सार्वजनिक प्रशासनको महत्त्वपूर्ण पाटो भएकाले सार्वजनिक प्रशासनलाई स्वच्छ र पारदर्शी बनाइ आर्थिक अनुशासन कायम गर्न सार्वजनिक खर्चको सदुपयोग मितव्ययिता, प्रभावकारी र दक्षतापूर्वक ढङ्गले सञ्चालन गर्नुपर्दछ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन – २०७६ अनुसार बेरुजु भन्नाले ‘प्रचलित कानुनबमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठहराएको कारोबारलाई सम्झनु पर्दछ’ भनी उल्लेख गरेको छ । बेरुजु हुनु भनेको आर्थिक सुशासनलाई कमजोर बनाउनु र आर्थिक अनुशासन उल्लङ्घन गर्नु हो ।