२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,३ फागुन: विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले समाजमा जागरण ल्याउन गैरसरकारी संस्था (गैसस)हरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
गैरसकारी संस्था महासंघ मोरङको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मेयर कोइरालाले राज्य नपुगेको क्षेत्रमा पनि गैसस पुगेर कार्य गरेको भन्दै प्रशंसा गरे । उनले महानगर नपुगेको कतिपय क्षेत्रमा पनि गैसस पुगेर कार्य गरिरहेको उनको भनाइ थियो । “राज्य जहाँ पुगेको हुँदैन त्यस ठाउँमा गैससले काम गरेको छ । सरकारले गर्नुपर्ने धेरै कामहरु गैससले गरिरहेको छ,” मेयर कोइरालाले भने, “विराटनगरका पनि कतिपय क्षेत्रमा हामी पुग्न सक्दैनौं । ती क्षेत्रमा गैसस पुगेर काम गरेको छ ।”
कोइरालाले सीमा क्षेत्रमा विशेष गरी मानव बेचविखनविरुद्धको अभियानमा गैससले राम्रो काम गरेको बताए । जसको प्रशंसा केही दिनअघि विराटनगर महानगरमा आएका नेपालका लागि अमेरिकी राजदूतले समेत आफूसितको भेटमा गरेको मेयर कोइरालाले स्मरण गरे । कोइरालाले धैरैजसो गैससहरुले एउटै प्रकृतिको तालिम सञ्चालन गर्ने गरेको बताए । गैससहरुले समन्वय गरेर बेग्लाबेग्लै किसिमको तालिम दिँदा प्रभावकारी हुने उनको सुझाव थियो ।


जिल्ला समन्वय समिति मोरङकी उपाध्यक्ष उषा झाले गैससहरुले स्थानीय सरकारसित सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिइन् । समाजको रुपान्तरणका लागि गैससको भूमिका महत्वपूर्ण रहेको बताउँदै झाले स्थानीय सरकारले गैसससित सहकार्य गरेर काम गर्दा प्रभावकारी हुने विचार राखिन् । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश–१ का प्रमुख पवनकुमार भट्ट, पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, गैसस महासंघकी केन्द्रीय सदस्य सीता शर्मा, प्रदेश अध्यक्ष लखनलाल साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा कोषाध्यक्ष सरिता दाहालले आर्थिक प्रतिवेदन र सहसचिव नवराज निरौलाले सांगाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधारणसभाले कार्यबाहक अध्यक्षसमेत रहेकी विष्णु शर्मा पन्तलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । साधारणसभापछि गैससले दुई दिने तालिमसमेत सुरु गरेको आयोजक संस्थाकी सचिव सरिता खनाल अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!