२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २५ फागुन: प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध हत्या अभियोगसहितको मुद्धा दर्ता गरिएकोमा नेकपा (माओवादी केन्द्र) झापा भर्त्सना गरेको छ ।

माओवादी केन्द्र झापाले आज एक प्रेस विज्ञप्ति निकाल्दै अध्यक्ष प्रचण्डविरुद्ध लगाइएको अभियोग र मुद्दाप्रति आपत्ति जनाउँदै भत्सर्ना गरेको हो । “१० वर्षे जनयुद्ध, २०६२–०६३ को दोस्रो जनआन्दोलन र त्यसको जगमा भएको वृहत शान्ति सम्झौता, अन्तरिम संविधान, पहिलो र दोस्रो पटक सम्पन्न संविधानको निर्वाचन तथा संविधानसभाबाट निर्मित संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्र आधारभूत संरचना सहितको वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धिहरु विरुद्ध हुने कुनै पनि गतिविधिप्रति सशक्त प्रतिवाद गरिने समेत सम्बद्ध सबैमा जानकारी गराइन्छ”– विज्ञप्तिमा उल्लेख छ ।

“दशवर्षे जनयुद्धको क्रममा भएका घटनाहरुको सम्बन्धमा वृहत शान्ति सम्झौताले निर्देशित गरे बमोजिम सत्यनिरुपण तथा वेपत्ता छानविन आयोग गठन भई उक्त आयोगले संक्रमणकालीन न्यायिक कारवाही सम्पन्न गर्न लामो समयदेखी क्रियाशिल भइरहेको परिप्रेक्षमा उक्त आयोगको अधिकारक्षेत्र भित्रका विषयहरुलाई प्रतिकूल असर पर्नेगरी कुनै पनि अधिकारक्षेत्र ग्रहण गर्न, कारवाही अगाडी बढाउन र सो सम्बन्धमा कुनै निर्णय गर्न नमिल्ने स्मरणसहित सचेत गराउन चाहन्छौं”, माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य अग्निले भन्नुभयो, “संक्रमणकालिन न्यायको मूल्य, मान्यता विपरीत हुने कार्यहरु र गतिविधिले मुलुकमा स्थापित शान्ति प्रक्रियामा गम्भीर चुनौती सृजना हुन्छ, हाल स्थापित शान्ति सम्झौताका पक्षधर राजनीतिक पार्टीहरु, शान्तिपक्षधर आम जनसमुदाय एकजुट हुन समेत आह्वान गर्दछौं ।”

१२ बुँदे सम्झौता र शान्ति प्रक्रियाको थालनीसँगै मुलुकको अग्रगामी प्रक्रिया विरोधी तत्वहरु तथा प्रतिगमनकारी प्रवृत्तिहरु विभिन्न रुपमा सलबलाइरहेको परिप्रेक्षमा यी प्रवृत्तिहरु विरुद्ध अग्रगामी परिवर्तन पक्षधर राजनीतिक शक्ति र पार्टीहरु तथा आम जनसमुदायलाई प्राप्त उपलब्धिहरुको रक्षाका निम्ति एकजुट हुन अनुरोधसमेत गरिएको छ । गलत क्रियाकलापको विरुद्धमा सशक्त प्रतिवाद गर्नका लागि पार्टी समवद्ध सबै संगठनलाई अपिल गरिएको संयोजक आचार्यले बताउनुभयो । सम्बन्धित पक्षलाई गलत निर्णय सच्याई बृहत शान्ति सम्झौताको अक्षरसः पालना गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!