
विराटनगर, १७ कात्तिक । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका एक पुरुषको शव तीन दिनदेखि अस्पतालमै रहेको छ । उपचार गरेवापतको पैसा तिर्न नसक्दा विराटनगर–३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव विराट शिक्षण अस्पतालमै रहेको छ ।
उपचार गर्दा लागेको शुल्क बुझाउन नसक्दा शव अस्पतालमै रहेको परिवारले बताएका छन् । उनको शनिबार बिहान मृत्यु भएको हो । तर उपचारमा लागेको तीन लाख ८४ हजार रुपैयाँ नतिरेको भन्दै अस्पतालले तीन दिनसम्म संक्रमितको शव आफन्तलाई बुझाएको छैन ।
मृतककी छोरीले उपचार गर्दा अस्पतालमा लागेको शुल्क तिर्न नसक्दा बुबाको शव ३ दिनदेखि अस्पतालले नदिएको बताएकी छन् । अस्पतालले शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा पनि लगाएको छैन ।
मृतक विराटनगरका एक निजी विद्यालयका बस चालक हुन् । बुबाको शव अस्पतालबाट झिक्नका लागि धेरै ठाउँमा पहल गरिसकेको बताउँदै उनले भनिन्, ‘बुबाको उपचारमा २ लाख ५० हजार रुपौयाँ खर्च भइसकेको छ । बुबाको उपचार गर्दा लागेको जम्मा खर्चमा अस्पतालले छुट गर्दा पनि ३ लाख ८४ हजार ९ सय ३५ रुपैयाँ बुझाउनु पर्छ । तर, अहिले हामीसँग भएको सबै रुपैयाँ पहिला नै खर्च भइसकेको हुँदा थप रुपैयाँ तिर्न सक्ने अवस्थामा छैनौं ।’
पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई उपचारका लागि कात्तिक ६ गते अस्पताल भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
विराट अस्पतालका प्रशासन प्रमुख सुधिरसिंह राठोरका अनुसार तामाङको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको र उपचारका क्रममा उठेको बिल परिवारले नतिरेका कारण शव अस्पतालमै रहेको छ।