
१९ कात्तिक,विराटनगर। चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको कर्णाली प्रदेशमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पबाट भएको ठूलो धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको बताएका छन् । समकक्षी नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई आइतबार शोक सन्देश पठाउँदै राष्ट्रपति चिनफिङले चीन सरकार र चिनियाँ जनताकातर्फबाट मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त भनेका छन् ।
उनले शोक सन्तप्त परिवारजन तथा घाइतेहरुप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकरको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका नेपाली जनताले भोग्नुपरेको अप्ठयारो पार गरी यशाशक्य छिटो बस्नको लागि घर निर्माण गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । पत्रमार्फत् राष्ट्रपति चिनफिङले नेपाललाई यस विपद्को घडीमा आवश्यक सहयोग गर्न चीन सरकार इच्छुक रहेको समेत उल्लेख गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
शुक्रबार मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो १५७ जनाको मृत्यु भएको छ भने डेढ सयभन्दा धेरै घाइते छन् । भूकम्पले भौतिक संरचनामा पनि ठूलो क्षति पुर्याएको छ ।