
विराटनगर, १८ कात्तिक । अष्ट्रेलियाका क्रिकेटर शेन वाटसनले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । अष्ट्रेलियाका पूर्वअलराउण्डर वाटसनले मंगलबार आफ्नो वेबसाइटमा एक भिडियो पोस्ट गर्दै सन्यास घोषणा गरेका हुन् ।
३९ वर्षीय वाटसनले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट चेन्नई सुपर किङ्सबाट खेलेका थिए । तर, चेन्नई लिग चरणबाटै बाहिरिएको थियो ।
चेन्नई बाहिरिएसँगै वाटसनले सन्यास घोषणा गरेका हुन् । उनले आईपीएलको १ सय ४५ खेलमा ३ हजार ८ सय ७४ रन बनाएका छन् । उनले ९२ विकेटसमेत लिएका छन् ।
वाटसनले अन्तराष्ट्रिय क्रिकेटबाट भने सन् २०१६ सन्यास लिएका थिए । तर, उनले फ्रेन्चाइज क्रिकेट भने खेल्दै आइरहेका थिए ।
विश्वकप विजेता वाटसनले अष्ट्रेलियाका लागि ५९ टेस्ट खेलेका थिए । यस्तै १ सय ९० एकदिवसीय र ५८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए ।