
इनरुवा, २० जेठ: सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गएराति एक करोड एक लाख सहित एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा हरिनगर –५ का ३७ वर्षीय ईसा अन्सारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । शनिबार राती हुन्डिको आशङकामा एक करोड एक लाख नगद सहित अंसारीलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगर तर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको एक करोड एक लाख रकम बरामद भएको प्रवक्ता थापाले जानकारी दिनुभयाे।
बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान ९७ लाख र पाँच सय दरको आठ सय थान ४ लाख रहेको छ । प्रारम्भिक सोधपुछमा अन्सारीले सो रकमको स्रोत खुलाउन नसकेका उहाँको भनाइ छ । नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहिका लागि रजास्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो।