
महमद अफरोज हवारी विराटनगर १८ भदौ: विराटनगरका कानुनका विद्यार्थीहरुको संघ लुक्ला नेपालले हालै सार्वजनिक स्थानमा भएको अश्लील क्रियाकलापको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। यस सम्बन्धमा संघले जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङलाई भदौ १७ गते ज्ञापनपत्र बुझाएको हो।
लुक्ला नेपालका अध्यक्ष कौशल कुशवाहका अनुसार, यस्तो प्रकारका अश्लील र आपत्तिजनक क्रियाकलापहरूले समाजको नैतिक मूल्य र शान्तिमा खलल पुर्याउने खतरा उत्पन्न भएको छ। संघले मुलुकी अपराध संहिता २०७४ को दफा १२२, १२३, र १२४ को उल्लंघन भएको उल्लेख गर्दै, ती दोषीहरू विरुद्ध कानुनी कारबाही अघि बढाउन जोडदार माग गरेको छ। यी दफाहरूमा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन, यौन क्रिया गर्न, तथा यौन दुर्व्यवहार गर्न निषेध गरिएको छ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले चासो राख्दै कारबाहीका लागि आवश्यक कदम चालिने बताए।लुक्ला नेपालले यस घटनाबाट समाजमा अश्लीलता र अनैतिकता बढ्न सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ।