
विराटनगर, २० कात्तिक । विश्वभरका मानिसहरुको चासो र चर्चामा रहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयको अत्यन्त नजिक पुगेका छन् । तर अझै पनि कस्तो परिणाम आउँछ भन्न सक्ने स्पष्ट स्थिति छैन ।
अहिले बिहानसम्म प्राप्त परिणामअनुसार, पूर्व उपराष्ट्रपति जोय वाइडेनलाई अब जित्नका लागि जम्मा छ इलेक्टोरल मतको आवश्यकता छ ।
उनले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २६४ प्राप्त गरिसकेका छन् । राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गरेका छन् ।
अधिकांश राज्यको मत गणनाको परिणाम आइसकेको र बाँकी चारवटा राज्यको मत परिणाम आउन बाँकी छ ।
नेपाली समय अनुसार अहिले बिहानसम्म बाँकी चारवटै राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर परेको छ । नेभाडा राज्यमा अहिले सबै अमेरिकनको ध्यान गएको छ ।
यो राज्यमा अहिले करिब ७५ प्रतिशत मतगणना सम्पन्न भइसकेको परिप्रेक्ष्यमा दुवै उम्मेदवारले ४९ प्रतिशत मत प्राप्त गरे तापनि झिनो मतान्तरले वाइडेनले अग्रता लिएका छन् । यो राज्यमा छ इलेक्टोरल मत छ । यो राज्यमा वाइडेनले विजय हात प्राप्त गर्नुभयो भने उनी राष्ट्रपति चुनिनेछन् ।
त्यसैगरी जर्जिया, नर्थ क्यारोलिना र पेन्सिलभेनियामा राष्ट्रपति ट्रम्पको अग्रता छ । यी तीन राज्यमा क्रमशः १६, १५ र २० इलेक्टोरल मत उनको पक्षमा जाने लगभग निश्चित छ ।
यी तीनवटै राज्यको इलेक्टोरल मत जोड्दा हुनआउने ५१ मत र उनले हालसम्म प्राप्त गरेकाे २१४ मत जोड्दा पनि स्पष्ट बहुमत हासिल गर्ने छैनन् । राष्ट्रपति ट्रम्पलाई पदमा टिकिरहनका लागि उपर्युक्त चारवटै राज्यको निर्वाचन आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ ।
कडा प्रतिस्पर्धात्मक रहेको नेभाडाको परिणाम केही घण्टापछि आउने बताइएको छ भने अन्य तीन राज्यको परिणाम शुक्रवारसम्ममा आउनेछ । कथमकदाचित नेभाडामा ट्रम्पले विजय हात पारे भने उनी पुन चार वर्षका लागि ह्वाइट हाउसमा बस्नेछन् । त्यसैले कसले जित्छ भनेर अहिले नै भन्नु उपयुक्त हुन्न ।