
विराटनगर ८ फागुन :सांकेतिक शिक्षक नियुक्ती लगायतका माग राख्दै विराट बहिरा मांविका विद्यार्थीहरुले मंगलवार देखी प्रधानाध्यापक मीनु दाहालको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन ।
कोशी प्रदेशकै एक मात्र ठूलो विराट बहिरा मांविमा कक्षा १ देखी १२ सम्म पठन पाठन हुँदै आएको छ । यो विद्यालयका अधिकांश शिक्षकले सांकेतिक भाषा बुझ्दैनन । जसले गर्दा विद्यार्थीको पठन पाठनमा कुनै सुधार आउन सकेको छैन विद्यार्थीका जायज माग विद्यालय व्यवस्थापन समितिले सम्बोधन नगरेपछि बाध्य भएर प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेको आन्दोलित विद्यार्थीहरुले बताए ।
सांकेतिक भाषाको माध्यमबाट पढाउने र सिकाउने वातावरण अनिवार्य गर्नुपर्ने , विद्यालयमा सांकेतिक भाषमा पठन पाठन भए नभएको दैनिक अनुगमन गर्नुपर्ने , आवास , खाना र खाजा गुणस्तरीय हुनुपर्ने , कक्षा अनुसारको शिक्षक , शैक्षिक सामाग्री र खेलकुदका सामाग्रीहरुको व्यवस्थापन हुनुपर्ने , सिभिय इन्जिनियरिङमा हस्तान्त्तरण गरिएका जनपथ मा.विका कक्षा १२ का विद्यार्थीलाई आउने जाने यातायातको सुविद्या उपलब्ध गराउनु पर्ने , विद्यालय बाहिर हिडेर जादा दुर्घटनाको जोखिम बढेकोले तत्कालै यातायातको व्यवस्था गर्नुपर्ने माग राखी विद्यार्थीहरु आन्दोलित भएका हुन ।
कक्षा १२ का विद्यार्थी डेडराज राईले विद्यार्थीका जायज माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए । सांकेतिक भाषानै नबुझ्ने शिक्षकलाई वहिरा विद्यालयको शिक्षक नियुक्ती गरिएको छ राईले भने , यो परम्पराको अन्तय नभएसम्म हामी कुनै पनि शर्तमा सम्झौंता गर्दैनौ ।
विःस २०६२ सालमा स्थापना भएको विराट बहिरा मा.वि विराटनगर महानगरपालिकाको वडान ५ मा कोचाखालमा संचालनमा छ । यस विद्यालयमा २ सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन । निशूल्क पठन पाठन हुने भनिएपनि विद्यालयले एसईईको नाममा विद्यार्थीसँग रकम संकलन गरिरहेको विद्यार्थीहरुको आरोप छ ।
विद्यालयका सहायक प्रधानाध्यापक रमा रिजालले विद्यार्थीले उठाएका मागका बिषयमा छलफल भैरहेको र चाडै समस्याको समाधान खोजिने बताईन ।