२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर, ८ चैत : कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पछिल्लो ६ महिनामा १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजू असुल गरेको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्ममा असुल गर्नुपर्ने बेरुजू रकम ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ रहेको थियो।

भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार लगातारको ताकेता पश्चात् मन्त्रालय तथा मातहतका १२ वटा कार्यालयहरूले बेरुजू घटाउन सफल भएका छन्। उनले महालेखाले प्रतिवेदनमार्फत असुल गर्न निर्देशन दिए पनि सम्बन्धित निकायले पत्र पठाउने बाहेक खासै पहल नगरेको बताए। “सरकारी राज्य कोषको ठूलो रकम दुरुपयोग भएको देखेपछि व्यक्तिगत रूपमा पहल गर्दै ताकेता गरें,” मन्त्री राईले भने।

मोरङमा सबैभन्दा धेरै असुल

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बेरुजू रकम पूर्वाधार विकास कार्यालय मोरङमा थियो। सो कार्यालयमा १८ करोड ६२ लाख ९३ हजार २३५ रुपैयाँ बेरुजू रहेकामा १६ करोड १६ लाख ९४ हजार रुपैयाँ असुल गर्न सफल भएको छ।

तर, यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय पाँचथर, संखुवासभा र झापाले भने बेरुजू असुल गर्न सकेका छैनन्। मन्त्रालयका तथ्याङ्कअनुसार यातायात पूर्वाधार निर्देशनालयको २ करोड ३६ लाख, पाँचथरको ९२ लाख, झापाको ६ करोड १३ लाख र संखुवासभाको ७ लाख ७७ हजार बेरुजू रहेको छ। यी कार्यालयलाई असार मसान्तसम्म बेरुजू असुल गर्न समयसीमा दिइएको छ।

१ अर्ब बेरुजू घटाउने लक्ष्य

मन्त्रालयका अनुसार कुल नियमित गर्नुपर्ने बेरुजू रकम १ अर्ब ७४ करोड ६० लाख १९ हजार १६६ रुपैयाँ रहेको छ। हालसम्म २१ करोड २० लाख ३० हजार ६८४ रुपैयाँ नियमित भइसकेको छ। मन्त्री राईका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा नियमित गर्नुपर्ने बेरुजूलाई १ अर्बले घटाउने लक्ष्य राखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!