२०८२ फाल्गुन २८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी : काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कूल चेस च्याम्पियनसिप’ आजदेखि बालुवाटारमा सुरु भएको छ । प्रतियोगिताको व्यवस्थापन हिमालयन चेस एकेडेमी (एचसीए) ले गरेको छ ।

दर्जन भन्दा बढी विद्यालयका २०० भन्दा बढी विद्यार्थी सहभागी हुने प्रतियोगिता काठमाडौं–४ मा रहेको महेन्द्र राष्ट्रिय माविको हलमा हुनेछ। कक्षा १ देखि १२ सम्म अध्ययनरत बालबालिकालाई लक्षित गरी प्रतियोगिता ६ समूहमा विभाजन गरिएको छ—प्रत्येकमा बालक र बालिका फरक छुट्याइएको छ।

वडाध्यक्ष दिनेश महर्जनका अनुसार प्रतियोगिताबाट विद्यार्थीबीच भाइचारा बढ्ने, बुद्धि विकाससँगै अवसरको सृजना हुने अपेक्षा गरिएको छ। वडाबाहिर अध्ययनरत भए पनि स्थानीय बालबालिकाले सहभागी हुन पाउनेछन्।

हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले चेस खेलले रणनीतिक सोच र बौद्धिक विकासमा योगदान पुर्‍याउने बताए । उनले भने , “चेसले अध्ययनमा पनि सहयोग पुर्‍याउँछ, त्यसैले यसलाई प्राथमिकता दिँदै आएका छौं।” एक वर्षअघिदेखि सञ्चालनमा आएको एकेडेमीले हालसम्म आठवटा प्रतियोगिता आयोजना गरिसकेको छ।

टेक्निकल डिरेक्टर याईशाष यासिर खम्बूका अनुसार प्रतियोगिता स्वीस प्रणालीअनुसार सात राउन्डमा सञ्चालन हुनेछ। प्रत्येक खेल १० मिनेटको हुनेछ, जसमा चालमा १० सेकेन्डको बृद्धि दिइनेछ। पहिलो दिन चार राउन्ड र दोस्रो दिन तीन राउन्ड खेल हुनेछ।

प्रत्येक समूहका शीर्ष १० खेलाडीलाई पदक प्रदान गरिनेछ। पदकका आधारमा विद्यालयलाई अंक दिइनेछ र सर्वाधिक अंक प्राप्त गर्ने विद्यालय ‘चेयरम्यान कप च्याम्पियन’ घोषित हुनेछ। उत्कृष्ट तीन विद्यालयलाई पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!