
पर्वत, २४ कात्तिक । पर्वतमा गएको वर्ष घटेको धान उत्पादन यस वर्ष भने ७ प्रतिशतले बढ्ने भएको छ । यस वर्ष गएको जेठ अन्तिम सातादेखिनै निरन्तर वर्षा भएकाले धान उत्पादनमा वृद्धि हुने जिल्ला कृषि ज्ञान पर्वतका कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानाकारी दिए ।
रोप्ने बेला र रोपिसकेपछि निरन्तर वर्षा हुनु, हावा हुरी, रोग किरा तथा असिना नपर्नु जस्ता अनुकुल समय परेकाले यस वर्ष धान उत्पादन बढ्ने भएको रेग्मीको भनाई छ ।
गत वर्ष भने रोप्ने बेला लामो समय परेको खडेरी, बाला लाग्ने बेला धानमा देखिएको कालोपोकेको प्रभाव र थन्क्याउने बेला आएको असिना पानीका कारण पर्वतमा दश प्रतिशतले धान उत्पादन घटेको थियो । यस वर्ष धानखेतीका लागि दशककै राम्रो मौसम परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पर्वतको कटुवाचौपारी, पिपलटारी ,सिल्मी,पकुवा,ठुलिपोखरी ,शंकरपोखरी, फलेवास धानको लागि पकेट क्षेत्र हुन् । पर्वतमा ९ हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । गत बर्ष श्रमिकका कारण धान थन्क्याउन समेत हम्बेहम्वे परेका कृषक यो बर्ष भने कोरोना भाइरसका कारणले गाउँमा युवा जनशक्ति भएकाले समस्या नहुने कृषकको भनाई छ ।