
सुन्दरहरैंचा, २४ कात्तिक । धान भित्र्याएसँगै किसानहरू हिउँदे खेतीका लागि जुटेका छन् । कोही किसान धानबारीमा तोरी, गहुँ छर्ने तयारीमा छन् भने कोही आलु रोप्दैछन् ।
तरकारीको राजा मानिने आलु नगदेबालीमध्ये एक पनि हो । आलुको व्यवसायीक खेती गर्दा मनग्ये आम्दानी गर्न सकिन्छ । तर, गाउँघरमा आफूलाई खानका लागि मात्र आलु रोप्नेहरुको संख्या पनि उत्तिकै छ ।
तर, यस वर्ष भने आलुको बीउको दाम आकाशिएका कारण किसान मार्कामा छन् । आलुको बीउ प्रतिकिलो ८० रुपैयाँमा किन्नु परेपछि किसान निराशावादी छन् । बीउमा ठूलो लगानी गर्नुपर्दा फल्ने वा नफल्नेमा आफू आशावादी नरहेको सुन्दरहरैंचा–११ का किसान फणिन्द्र भट्टराई बताउँछन् ।
उनले आफूलाई खानकै लागि १० धुरमा आलु लगाएका हुन् । १० किलो आलुको बीउ प्रतिकिलो ७५ रुपैयाँका दरले किन्नुपरेपछि यस पटक आलुमा लगानी धेरै गर्नुपरेको उनको गुनासो छ ।
‘बीउ प्रतिकिलो ७५ का दरले किन्यौं । यसलाई चाहिने मलखाद किन्दा आलुमा यो पटक धेरै लगानी हुनेभो । तर, अब यसमा मौसमको पनि भूमिका रहने हुँदा यस पटक आलु रोप्दै हामी निराशावादी छौं । बीउ अनुसार आलु फल्ने नफल्नेमा चिन्ता छ’, उनले भने ।
यसैगरी सुन्दरहरैंचा–११ की कृषक निर्मला काफ्लेले प्रतिकिलो ८० रुपैयाँका दरले आलुको बीउ किनिन् । २५ किलो बीउ किनेकी उनले यस वर्ष आलुमा धेरै लगानी गर्नुपरेको बताइन् । ‘अघिल्लो वर्ष ५० रुपैयाँका दरले बीउ किनेका थियौं । यसपालि धेरै नै महँगो बीउ किन्न परेका छ । अब यसका लागि प्रतिकिलो ६० रुपैयाँका दरले डीएपी किन्नुपर्छ,’ उनले भने ।
१४ धुरमा आलु रोप्ने योजना निर्मलाको छ । अघिल्लो वर्ष माैसमले साथ दिँदा भनेअनुसारकाे आलु उत्पादन भएकाे बताउँदै उनले यसपटक भने आफूहरू निरानशावादी भएकाे बताइन् ।
सोही स्थानका दुर्गाबहादुर कार्कीको गुनासो पनि यस्तै छ । उनी पनि यसपटक निराशावादी हुँदै आलु रोपेकाे बताउँछन् ।
सुन्दरहरैंचा–३ का आलु व्यापारी किशोर मण्डल यसपटक आलुको दाम नै आकाशिएका कारण बीउको महँगो भएको बताउँछन् । कोरोनाका कारण यसपटक आलुको बीउको दाम महँगो भएको उनको भनाइ छ ।