
विराटनगर, २५ कात्तिक । आजयुएइमा जारी तेह्राैं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल हुँदैछ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बेलुका ७ः४५ बजे हुने फाइनलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
मुम्बई साविक विजेता टाेली हाे भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको टाेली हो ।मुम्बई लगातार दोस्रो पटक उपाधि जित्ने दाउमा रहेको छ भने नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली इतिहास रच्ने लक्ष्य सहित मैदानमा उत्रिँदैछ । सन्दीप भने सिजनमा मैदान उत्रने मौका पाएका छैनन् ।
दुवै टोलीबीच यसअघि बिहीबार भएको क्लालीफायरमा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बईले फाइनलमा स्थान बनाउन सफल भएको थियो । तर पराजित भएपछि शुक्रबार दिल्ली इलिमिनेटरको विजेता टोली सनराइजर्स हैदराबादसँग खेल खेलेको थियो । जित्नै पर्ने उक्त खेदमा हैदराबादलाई १७ रनले पराजित गर्न सफल भएपछि दिल्लीले फाइनलमा स्थान पक्का गर्दै मुम्बईसँग पुनः भेट निश्चित गरेको हो ।
यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ । मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ । सन् २००८ बाट सुरु भएको आईपीएलको जारी १३औं संस्करणमा आठ टोली सम्मलित रहेका थिए ।