
विराटनगर, २७ कात्तिक । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने होडमा लागिपरेका छन् । बुधबार राति भएको एन्डोरासँगको मैत्रीपूर्ण खेलमा एक गोल गरेका रोनाल्डो आफ्नो राष्ट्रबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा थप अगाडि बढेका छन् ।
गए राति पोर्चुगलले एन्डोरामाथि ७–० गोलको फराकिलो जित दर्ता गर्दा रोनाल्डोले एक गोल र एक असिस्ट गरेका थिए । लिस्बोनस्थित स्टेडियो डा लुजमा ८५औं मिनेटमा गोल गरेका थिए ।
यससँगै उनले पोर्चुगलबाट १०२औं गोल गरेका छन् । अब उनलाई अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न मात्र ८ गोलको खाँचो छ ।
इन्टरनेशनल गोल गर्ने खेलाडीको सूचीमा इरानका अली डाइ सबैभन्दा अगाडि छन् । उनले १०९ गोल गरेका छन् । २३ अगस्ट २००३ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका रोनाल्डोले पोर्चुगलका लागि १६८ खेल खेलेका छन् ।