२०८२ जेष्ठ ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २८ कात्तिक । प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलको नेता राजीव कोइराला सतर्कदा अपनाउँदा–अपनाउँदै कोरोना भाइरसबाट संक्रमित बन्न पुगे । सतर्क रहँदै विभिन्न सामाजिक तथा सचेतनामूलक काममा सहभागिता जनाउने क्रममा उनले कोरोनाको सामना गर्नुपर्‍यो ।

कात्तिक २ गतेदेखि उनलाई रुघाखोकीले सतायो, ज्वरो आयो । एन्टिभाइटिक र सिटामोल खाएर आराम गर्दै बसे । तर, ज्वरो नियन्त्रणमा आएन । जीउ दुख्ने, श्वासप्रश्वासमा समस्या, स्वाद थाहा नपाउनेलगायत अन्य लक्षण नदेखिए पनि उनलाई खाना नरुच्ने समस्याले धेरै सतायो ।

स्मेल आए पनि खाना नरुच्दा उनले आफूलाई झन् कमजोर महसुस गरे । र, उनलाई कोरोना संक्रमण भयो कि भन्ने शंका लाग्यो । त्यसपछि ९ गते पीसीआर परीक्षण गराएका उनको रिपोर्ट १२ गते आयो । रिपोर्टमा कोरोना पोजिटिभ देखियो ।

होम आइसोलेशनमै बसेर कोरोना जित्ने मनसाय बनाएका उनले अन्ततः हार मान्नु पर्‍यो । छातीमा घ्यार–घ्यार हुने समस्या आएपछि उनी बूढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल भर्ना भए ।

कात्तिक १५ गते अस्पताल भर्ना भएका उनले त्यहाँ ११ दिन बिताए । अस्पतालमा रहँदा चिकित्सकको सल्लाहबमोजिम काम गरे । स्वस्थ खानपिन गरे, दैनिक योगा गरे । आयुर्वेदिक औषधि सेवन गरे । कस्तुरी भूषण, बेसार पानी, मरिचलगायत सेवन गरे । तातो पानी नियमित पिए ।

उनलाई डाक्टरले कोरोनामुक्त बन्नका लागि धेरै सहयोग गरे । उनलाई दिनमा एकपटक घोप्टो परेर सुत्न सल्लाह दिए । आत्मबल बढाउनका लागि सुझाव दिए । अन्ततः उनी कोरोनामुक्त हुन सफल भए ।

कात्तिक २६ गते कोरोनाबाट निको हुँदै उनी भिटामिनलगायत छ–सात दिनका लागि चाहिने औषधि लिएर घर फर्किए । तर, घर फर्किएपछि पनि उनले आफूलाई कमजोर महसुस गरिरहेका छन् । स्वस्थ हुँदाको तुलनामा कोरोना लागेपछि आफूले कमजोर महसुस गरेको उनले बताए ।

‘जोगिँदा–जोगिँदै कोरोनाबाट संक्रमित भएँ । ११ दिन अस्पतालमा बसेर घर फर्किँदा पनि पूर्ण रूपमा स्वस्थ नभएको फिल हुन्छ । कोरोना लाग्नुभन्दा अगाडिभन्दा अहिले कमजोर फिल गरिरहेको छु । विभिन्न रिपोर्टहरूमा कोरोनाका विभिन्न साइड इफेक्टहरू हुन्छ भन्छन् । तथापि यो अनुसन्धानकै क्रममा रहेको छ’, उनले भने ।

सर्वसाधारणले कोरोनालाई सहज रूपमा लिएको इंगित गर्दै कोइरालाले कोरोना संक्रमण नभएका मानिसले सोचेजस्तो नभएको बताए । स्वस्थ मानिसलाई कोरोनाले त्यति असर नगरे पनि दीर्घ रोगी, स्वास्थ्यका हिसावले कमजोर मानिसलाई धेरै नै असर गर्ने उनको भनाइ छ ।

उनले भने, ‘कोरोनालाई सहज रूपमा लिनु घातक हो । अहिले मानिसहरू स्वास्थ्य मापदण्डविपरीत भेला समारोह तथा हाटबजार गएको देखिन्छ । तर, कोरोनालाई सहज रूपमा लिँदा, खेलाँचीका रूपमा लिँदा यसले ज्यान लिने देखिन्छ । कोरोना लागिहालेमा सबैभन्दा प्रभावकारी उपचार भनेको आत्मबल बढाउनु नै रहेछ ।’

कोइरालाले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेका हरेक प्रयास असफल भएको सुनाए । कोरोना नियन्त्रणमा संघीय सरकार मात्र नभएर तीनै तहका सरकार असफल भएको उनले बताए ।

सरकारले स्वास्थ्यसम्बन्धी मौलिक हक पूरा नगरेको बताउँदै उनले कोरोना संक्रमितलाई निःशुल्क उपचार गर्नुपर्ने बताए । अहिले विभिन्न अस्पतालमा कोरोना संक्रमितले उपचार खर्च व्यहोर्न नसकेको उल्लेख गर्दै उनले पैसाकै अभावमा कोरोनाबाट ज्यान गएकाको शव आफन्तले झिक्न नसकेको बताए ।

उपचार खर्च तिर्न नसक्दा आफन्तलाई शवसमेत नदिएका केही अस्पतालका उदाहरण सुनाउँदै उनले भने, ‘सरकार योजनाविहीन भइँदिँदा मानिसले मर्नुबाहेक अरु विकल्प छैन । सरकारले अनुगमन गर्नुपर्‍यो  । सरकार आफ्नो प्रचारप्रसारमा मात्र लागेको छ । जति ध्यान कोरोना नियन्त्रणमा दिनुपर्ने हो त्यति दिएको देखिएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!