
गण्डकी, ३ मंसिर । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनमा पाेखराका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै रु ६० हजार आम्दानी गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शंकर नेपालीले चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट रु ६० हजार आम्दानी गरेका हुन् ।
विसं २०७७ चैत महिनादेखि निर्मलपोखरी र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयबाट निगालो र निगाले बाँस खरिद गरेर चोया काटेर डोका ३४, थुन्से २४, झ्यारलुङ्गो १५ र धान राख्ने कोठा तथा मागअनुसारका विभिन्न अन्य सामग्री निर्माण गरी बिक्री गर्दै आएको उनले जानकारी दिए ।
आन्द्रामा क्यान्सर रोगको कारण शरीर कमजोर रहेपनि हातको सीपसँगै केही हदसम्म भए पनि आम्दानी हुने हुँदा परिवारको पालनपोषण र आफ्नो उपचारमा समेत सहयोग पुगेको उनले बताए ।
बिहान सबेरैदेखि साँझसम्म चोयासँग खेल्नु दैनिकी बनाउँदै आएको बताउने नेपालीका अनुसार तयार गरिएका सामान बिक्री गर्न बजार जानु पर्दैन । सामान चाहिनेहरू घरमै आउने गरेको उनले बताए ।
चोया काढेर दुई दिनको अवधिमा तीनवटा डोका तयार गर्ने गरेको बताउँदै उनले मागअनुसार चोयाबाट निर्माण गरिने सम्पूर्ण सामग्री आफूले बुन्ने गरेको जानकारी दिए ।
नेपालीका अनुसार उत्पादित प्रतिडोका रु ५५०, विभिन्न आकारका थुन्से रु ४०० देखि ७००, झ्यारलुङ्गो (कुखुरा राख्ने) रु ७०० देखि ८००, धान राख्ने कोठाको रु दुई हजार र बच्चाको कोक्रो रु एक हजारका दरले बिक्री हुँदै आएको छ ।