
उदयपुर, ७ मंसिर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । अज्ञात समूहले राति एक बजेको समयमा पालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
विस्फोटबाट कार्यालयको कम्प्युटरका साथै टेबल, कुर्सीलगायतका फर्निचरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार घटनास्थल नजिकै एउटा बम पनि फेला परेको छ ।
घटनास्थललाई प्रहरीले सुरक्षाको घेरामा राखेको छ । घटना कसले र किन गरायो भन्नेबारेमा अहिलेसम्म खुल्न नसकेको पनि प्रहरी उपरीक्षक दाहालले बताए ।