२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १० मंसिर । बंगलादेशबाट ल्याउने भनिएको युरिया मल अझै आउने कि नआउने अन्योलमा छ । सुरुमा पैँचोमा ल्याउने भनिएको ५० हजार मेट्रिक टन युरिया मल पछि खरिद गरेर ल्याउने भनी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर, कुन प्रक्रियाबाट ल्याउने भन्ने अझै निर्णय नभएका कारण आपूर्ति अन्योल देखिएको छ ।

बङ्गलादेशबाट युरिया मल खरिद गरेर ल्याउने भनी निर्णय मन्त्रिपरिषद्ले गरे पनि जीटुजीबाट ल्याउने कि खुला प्रतिस्पर्धाबाट त्यो स्पष्ट नभएका कारण त्यसमा छलफल भइरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।

कृषि मन्त्रालयले जीटुजीबाट मल खरिद गर्ने भनी मन्त्रिपरिषद् समक्ष प्रस्ताव गरेको थियो तर मन्त्रिपरिषद्को बैठकले जीटुजी वा प्रतिस्पर्धाबाट मल खरिद गर्ने निर्णय गरेपछि मन्त्रालय अन्योलमा परेको छ । जीटुजीबाट ल्याउने कि प्रतिस्पर्धा गराएर मल ल्याउने त्यसबारे मन्त्रालयमा छलफल भइरहेको उनले बताए ।

बङ्गलादेशबाट मल ल्याउने भनी कृषि सामग्री कम्पनी लिमिटेडले बोलपत्र आह्वानमार्फत ढुवानीकर्ता पनि चयन गरिसकेको छ । कृषि सामग्री कम्पनी लिमिटेडका निर्देशक नेत्र भण्डारीले बङ्गलादेशबाट मल ल्याउने सम्पूर्ण प्रक्रिया आफूहरूले पूरा गरेर बसेको तर कृषि मन्त्रालयबाट निर्णय नआएको बताए ।

ढुवानीकर्ता तय भएको दुई महिनाभन्दा बढी भइसक्यो । सम्झौता भएको दिनदेखि २० दिनभित्र बङ्गलादेशबाट मल ल्याइसक्नुपर्ने सहमति भएको छ तर अहिलेसम्म कृषि मन्त्रालयबाट कुनै निर्देशन नआएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!