२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ७ मंसिर । भनिन्छ धैयताको फल मीठो हुन्छ । त्यस्तै भएको छ, मोरङको सुन्दरहैंचा–११ का किसान खेम श्रेष्ठलाई ।

परम्परागत बाली धान, गहुँ, मकै उब्जनी भइरहेको खेतमा ड्रागन फ्रुट्स रोपेका उनको दुई वर्षपछि मात्र कमाइ खान पाए । दुई वर्षसम्म खेतकै काममा खट्नुपरे पनि कमाइ खान नपाएका उनले यस वर्षदेखि भने लोभलाग्दो कमाइ गरे ।

२०७४ सालमा सुन्दरहरैँचा नगरपालिकाका तत्कालीन कृषि शाखा प्रमुख हृदयराज पोखरेलको सुझावमा खेमले ड्रागन फ्रुट्स खेती गर्ने निर्णय गरे । परम्परागत बाली उब्जनी भइरहेको पाँच कठ्ठा खेतमा नगरपालिकाकै अढाइ लाख लगानीमा १८० वटा ड्रागन फ्रुट्सको बिरुवा रोपे ।

बुबा रेणुप्रसाद श्रेष्ठ र खेम भएर पिल्लर गाडे र ९० वटा पिल्लरलाई चाहिने टायर किने । पाँच कठ्ठा जमिनलाई वरिपरिबाट तारजालीले घेरे । सो सबैका लागि खर्च भने सुन्दरहरैँचा नगरपालिकाले गरिदियो । लगानी आफ्नो नलागेपनि दुई वर्षसम्म पाँच कठ्ठाको उब्जनी खान पाएनन् ।

तथापि, पिलर गाडेर बचेको जमीनमा भने खोर्सानी, भिन्डी, सागलगायत उब्जनी गरे र घर खर्च चलाए । २०७५ साल जेठ–असारतिरबाट भने केही आश पलायो । ड्रागनको फूल फुल्यो । असारदेखि फल फल्न थाल्यो ।

त्यसपछि उनको चिन्ता बिक्री–वितरण गर्न बजारको विषयमा रह्यो । ‘लामो समयको प्रतीक्षापछि फल फल्यो र पाक्यो पनि । त्यसपछि अब कहाँ बेच्ने भनेर चिन्ता लाग्न थाल्यो’, उनले भने, ‘गाउँघरमै बिक्री भएर सकियो । एकान–दुईकान हुँदै टाढा–टाढाबाट किन्न आए ।’

सो सिजन उनले १० हजार जतिको बेचे । खासै नाफा नभए पनि मेहनत पनि गर्नुनपरेको उनी सुनाउँछन् । फल लाग्न थालेपछि अरु खेती जस्तो मेहनत पनि गर्नुनपर्ने भएपछि उनी बाख्रा पालनतर्फ पनि लागे । सोही वर्षको माघ महिनामा उनले २० वटा बाख्रा पाल्न सुरु गरे ।

यसैबीचमा उनीहरुले हरिमाया कृषि फार्म दर्ता गरे र व्यवसायिकतातर्फ खुलेरै लागे । यता, एक पटक लगाएर १५ वर्षसम्म उत्पादन हुने ड्रागन फ्रुट्स यस सिजन भने सोचभन्दा राम्रो भएर फल्यो ।

यस वर्ष उनीहरुले ८ मन जति ड्रागन फ्रुट्स फलाए र डेढ लाख जति आम्दानी गरे । यस वर्ष कमाइ राम्रो भएपछि अहिले उनले ड्रागन फ्रुट्स खेतीलाई विस्तार गरिरहेका छन् ।

बिरुवा उत्पादनबाट पनि कमाइ

त्यति मात्र नभएर अहिले उनले यसको बिरुवासमेत उत्पादन गरिरहेका छन् । प्रतिबिरुवा २०० रुपैयाँमा बिक्री पनि गरिरहेका छन् । त्यसबाहेक उनले थप ७५ वटा पिल्लरमा १५० वटा बिरुवा पनि लगाएका छन् । दसैं तिहारमा लगाएको ड्रागनको बोटले अब दुई वर्षपछि फल दिनेमा उनी आशावादी छन् ।

यसैगरी श्रेष्ठले अझ यसको माग बढेको खण्डमा यसको खेतीमा विस्तार गर्दै एक बिघामा ड्रागन खेती गर्ने लक्ष्य बनाएका छन् । हाल धान खेती गरिरहेको एक बिघामा ड्रागन फ्रुट्स नै गर्ने मनसाय रहेको बताउँदै उनी भन्छन्, ‘अरुले ड्रागन फ्रुट्स खेती नगर्दा हाम्रो बजार फराकिलो हुन्छ । यसैले माग बढेमा अरु एक बिगा जग्गामा ड्रागन रोप्ने योजना बनाएको छु । कमाइ राम्रो छ ।’

सुरुमा त श्रेष्ठलाई ड्रागन फ्रुट्स उत्पादन नहुँदासम्म भने फाइदा हुँदैन जस्तो लागेको थियो । तर, घरमै आएर ग्राहकले किनेको तथा सबैलाई यो फल चाख्न भ्याइनभ्याई भएको देख्दा भने उनी खुशी भए । अझ, बजारको मागअनुसार आफूले उत्पादन गर्न नसकेकाे महशूस पनि उनले गरे ।

उनका अनुसार फूल फुलेको महिना दिनमा फल पाकेर खानयोग्य हुन्छ । फेरि यो फल टिपेर राख्दा १०-१५ दिनसम्म नबिग्रिने हुन्छ । गर्मी समयको जेठदेखि असोेजसम्म मुख्य रूपमा फल दिने ड्रागन फुट्स वर्षमा चार लटसम्म फल्ने गर्दछ ।

यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्नेक्रम एक साथ चलिरहन्छ । श्रेष्ठ मात्रै होइन सुन्दरहरैँचा-४ का नवीन दाहाल, सुन्दरहरैंचा-३ का रामप्रसाद राई र मनिष मगरले पनि यसको व्यवसायिक खेती गरेका छन् । केही व्यक्तिले भने दुईचार बोट मात्रै ड्रागन फ्रुट्स आफूले घरमा खान तथा सोखको लागि रोपेका छन् ।

नगरप्रमुख भन्छन्: देशमै केही गराैं भन्ने कृषकलाइ नगरपालिकाले सहयोग गर्छ

नयाँ फल भएको तथा सुन्दरहरैंचा नगरमा समेत यो सफल व्यवसायका रूपमा अघि बढेकोले धेरैले ड्रागन फ्रुट्स फलको बारेमा जान्ने इच्छा राख्न थालेको सुन्दरहरैंचा नगर प्रमुख शिवप्रसाद ढकालले बताए ।

‘अब भने ड्रागन खेती विस्तार हुनसक्ने देखिएको छ । यसले गर्दा स्वदेशमै आत्मनिर्भर भएर व्यवसायिक रूपमा काम गर्न चाहने मेहनति कुषकहरुको लागि नगरपालिकाले सहयोगसमेत गर्ने गरेको छ’, ढकालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!