
काठमाडौँ, मङ्सिर १८ गते । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिउँदे बालीका लागि मलको अभाव नहुने जनाएको छ । हिउँदे बालीका लागि पनि मलको हाहाकार हुने चर्चा चलिरहेका बेला मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले हिउँदे बालीलाई मल अभाव नहुने स्पष्ट पारेको हो । मन्त्रालयसँग ७८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।
हाल १९ हजार दुई सय मेट्रिक टन युरिया र २६ हजार ८२१ मेट्रिक टन डीएपी मल मौज्दात रहेको छ । एक आर्थिक वर्षमा करिब १२ लाख ७१ हजार मेट्रिक टन रासायनिक मलको आवश्यक पर्ने गरेको मन्त्रालयले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेड ६० हजार मेट्रिक टन युरिया मल ल्याउने तयारीमा रहेको जानकारी गराएको छ । कृषि सामग्री कम्पनीले १० हजार मेट्रिक टन डीएपी पनि छिट्टै नेपाल ल्याउने मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले यसपालि गहुँ, तोरी, तेलहन, दलहन तथा तरकारी खेतीलगायतका लागि मलको अभाव नहुने जानकारी गराए । उनले हिउँदे बालीका लागि मात्र होइन अब रासायनिक मलको अभाव कहिले नहुने गरी समस्या समाधान भइरहेको बताए ।
रासायनिक मलको समस्या समाधानका लागि मन्त्रालयले निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याइसकेको र त्यसअनुसार काम भयो भने मलको अभाव कहिले नहुने दाबी गरे ।
उनले मलको अभाव हुन लागेको भनी भ्रम छर्ने काम भएको हुनाले त्यस्ता भ्रममा नपरी मल जति पनि रहेको दाबी गर्दै हिउँदे बालीका लागि मल पर्याप्त मात्रामा मल वितरण भइरहेको बताए ।
कोरोनाका कारण विगतमा रासायनिक मलको अभाव देखिए पनि हाल मलको अभाव नरहेको दाबी गर्दै उहाँले मन्त्रालयले मल आयात र वितरण प्रणालीमा सुधार गर्न आवश्यक नीतिगत व्यवस्था गरेको बताए ।
अबदेखि धान बालीका लागि पुस महिनामै मल आयातको टेन्डर आह्वानको व्यवस्था गरिएकाले समयमै मल आयात हुने उनले जानकारी गराए ।