
पोखरा, २३ मंसिर । पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् ।
मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको थियो । पछि विसं २०६७ मा बाख्रापालन समूह गठन गरियो । विसं २०७१ मा मौजा बाख्रापालक कृषि सहकारीमार्फत अधिकांश गाउँलेले व्यावसायिक बाख्रापालन शुरु गरे ।
सहकारीअन्तर्गत यहाँका ४० कृषकले बाख्रापालन गर्दै आएको मौजा बाख्रापालक कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताए । सहकारीमार्फत हाल दुई हजार ५०० बाख्रा पालिएको छ ।
सहकारीमा १०० सदस्य आबद्ध भए पनि अन्यले भैँसी, गाई तथा तरकारी खेती गरेका छन् । यहाँका कृषकले खरी, जमुनापारी, सिनाललगायत जात पाल्ने गरेका छन् । साना फार्ममा १० तथा ठूलामा २०० वटासम्म बाख्रा पालिएको छ ।
यहाँका ठूला बाख्रापालक कृषकले वर्षमा रु १५ लाख हाराहारीमा बाख्रा बिक्री गर्ने गरेको र रु छ लाख बचत गर्ने गरेका छन् । बाख्राको प्रमुख बजार पोखरा हो । मागअनुसार गाउँबाटै गाडीमा बाख्रा बिक्रीका लागि पठाउने गरिएको छ ।
खरी र बोयर जातको क्रस गरिएको बोका प्रजननका लागि कास्कीबाहेकका पर्वत, बागलुुङ, स्याङ्जालगायतका क्षेत्रका कृषकसमेत खरिदका लागि आउने गरेको सहकारीले जनाएको छ ।
प्रजननका लागि प्रतिकेजी रु एक हजार तथा अन्य खसी बोका रु ६५० प्रतिकेजीका दरले फार्मबाट बिक्री हुने गरेको अध्यक्ष गुरुङले जानकारी दिए । पशुपालनबाट राम्रो आम्दानी भएपछि पछिल्लो समय युवाहरुसमेत यसतर्फ आकर्षित छन् । विगतमा सडक सुविधा नहुँदा विकट रहेको यस ठाउँमा अहिले गाउँसम्मै ग्राभेल सडक निर्माण भइरहेको छ ।
यातायातको सुविधा र उत्पादित कृषि उपज बजारसम्म लैजान सहज भएपछि बाख्रा, भैँसीपालन र तरकारी खेती गर्नेहरुको सङ्ख्या बढिरहेको स्थानीयवासी बताउँछन् । बाख्रापालनबाट आफूहरुले राम्रो आम्दानी गरे पनि राज्यले दिने अनुदान सहयोग वास्तविक कृषकसम्म नपुगेको उनीहरुको गुनासो छ ।
कतिपय कृषकले अनुदान लिनकै लागि मात्र एक÷दुई वर्ष पशुपालन गर्ने अनि अनुदान आएपछि सो पेशा छाड्ने गरेकाले उत्पादनका आधारमा अनुदान दिनुपर्ने माग कृषकको छ ।
पोखरा–२० का वडाध्यक्ष सिमबहादुर गुरुङले बाख्रापालनको गाउँ भनेर वडाको चिनारी भएको बताउँदै बाख्रापालन र अन्य पशुपालनलाई सँगै लैजाने योजना रहेको बताए । बीउ बोका वितरण, घाँस काट्ने मेसिनलगायतका कार्यक्रममार्फत कृषकलाई वडामार्फत सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए ।
साविकको जिल्ला पशु सेवा कार्यालय कास्कीले विसं २०७१ मा मौजालाई बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । त्यसयता भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र तथा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयबाट कृषकको गोठ सुधार, तालीम, बजारको सुनिश्चिततालगायतमा सहयोग हुँदै आएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।