२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २४ मंसिर । सरकारले तोेकेको समर्थन मूल्यमा धान बेच्न किसानले लालपूर्जा देखाउनुपर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्जले कुपन प्रणालीबाट धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेको हो ।

तर कुपन लिनका लागि लालपुर्जा देखाउनु पर्ने व्यवस्था गरिएपछि भने अधियाँ बटिया गरी धान उत्पादन गरेका किसानहरु चिन्तित देखिन्छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय नेपालगञ्जले कुपन प्रणालीबाट धान खरिद गर्ने व्यवस्था गरेपछि किसानहरुले सजिलै धान विक्री गर्न पाएका छन् ।

कुपन अनुसार आफ्नो पालो परेको दिन प्रति कुपन ५० क्वीन्टलसम्म धान विक्री गर्न पाउने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका कारण किसानहरु दैनिक रुपमा आफ्नो कुपन अनुसार धान लिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय सम्म पुग्ने गर्छन् ।

कम्पनीका मुख्य शाखा प्रमुख निर्मल थापाले किसानलाई वितरण गरिएको कुपनमा कृषकको विवरण सहित धानको अनुमानित परिमाण र धान लिएर आउने दिन तोकिएकोले किसानलाई सहज भएको बताए ।

कुपन प्रणाली लागू गर्दा धान लिएर विक्रीका लागि लाइन लाग्नुपर्ने स्थितिको समेत अन्त्य भएको छ । कुपन लिनका लागि किसानले लालपुर्जा अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको छ । यसबाट अधियाँ बटियामा खेति गर्ने किसानले कुपन पाउन सकेका छैनन् ।

त्यसैले विचौलियाहरुले चलखेल गरिरहेको गुनासो पनि किसानहरुको छ । स्थानीय किसान सिराज अहमदले ५० क्विन्टल धान विक्री गर्न २५ कठ्ठा जग्गाको लालपुर्जा देखाउनुपर्ने भएकाले समस्या भएको बताए ।

कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष पहिलो चरणमा ४० हजार क्वीन्टल मोटा र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको छ । सरकारले मोटा धान प्रति क्वीन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मुल्य तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!