
झापाको शिवसताक्षीस्थित झिलझिलेका एक युवाको हत्या उनकै नजिकका साथीले गरेको खुलेको छ । शिवसताक्षी– ११ का २९ वर्षीय गोमनसिंह मगरको हत्या उनका साथी शिवसताक्षी– ८ का ३२ वर्षीय मनकुमार लिम्बूले गरेको प्रहरीले जनाएको छ ।
मगरको शव धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा गत बुधबार झिलझिलेनजिक रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले लिम्बूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
हत्याको कारण आर्थिक लेनदेन नै रहेको उनले बताए । उनीहरू मिल्ने र नजिका साथी थिए । पारिवारिक रूपमा पनि उनीहरू एक–अर्काको घरमा आवतजावत गर्ने गरेका थिए । दुवैजना बहराइनमा पनि एउटै कम्पनीमा काम गर्थे । केही महिनाअघि मात्र स्वदेश फर्किएका थिए । लिम्बूले मंगलबार साँझ घुम्न जाऊँ भन्दै मगरलाई बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको एसपी कोइरालाले जानकारी दिए ।
‘उनीहरू एकदम नजिकका साथी रहेछन् । एक–अर्कालाई हदै विश्वास गर्ने ।साँझ हावा खान जाऊँ भन्दै सताक्षीधाम मन्दिरतिर लागेछन् । मृतकले बाइक चलाएका, अभियुक्त पछि बसेको रहेछ । उनले मृतकलाई बाइक बिस्तारै चलाउन लगाएछन्,’ उनले भने, ‘त्यही क्रममा घाँटीमा धारिलो हत्यार प्रयोग गरेर हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् । हत्यापछि बाइक जंगलतिर फालेछन् । धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका मगर भाग्न खोजेको पनि देखिन्छ । फेरि लिम्बूले अन्धाधुन्द प्रहार गरेपछि उनको मृत्यु भयो ।’ हत्यापछि अभियुक्तले मृतकको दुईवटा मोबाइल र हत्यामा प्रयोग गरेका हतियार नजिकैको खोलामा फालेका थिए । ‘शुक्रबार उनले भनेअनुसार जेसिभी लगाएर खेला थुन्यौँ । त्यसपछि पम्पसिटले पानी फाल्दा मृतकको मोबाइल र हत्यामा प्रयोग भएको हतियार भेटियो,’ एसपी कोइरालाले भने ।
प्ररम्भिक अनुसन्धानअनुसार हत्याको कारण उनीहरूबीच भएको आर्थिक लेनदेन र त्यसपछि उत्पन्न मनमुटाव रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । ‘अभियुक्त लिम्बूले मेरो १०–१२ लाख पैसा हिनामिना गऱ्यो । हिसाबै गरेनन् भन्ने प्रारम्भिक बयान दिएका छन्,’ उनले भने, ‘नजिका साथी भएकाले मगरले यसमा खासै वास्ता गरेका रहेनछन् । तर, लिम्बूले मनमा राखेर बसेका रहेछन् ।’ अभियुक्त लिम्बूलाई आइतबार जिल्ला अदालत झापाबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।