२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ८ पुस । जाडो बढेसँगै शरीर र कोठा न्यानो बनाउन आगो तथा हिटर बाल्ने क्रम बढेको छ । हिमालदेखि तराईसम्म बढेको चिसोबाट बच्नका लागि अपनाइने यस्ता उपायले ज्यानै जाने खतरा पनि त्यतिकै रहन्छ । त्यसैले चिकित्सकहरूले कोठा तातो बनाउँदा शरीर नै सदाका लागि चिसो नहोस् भन्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले जाडो महिनामा हावाको आदानप्रदान कम हुने घर वा कोठा तताउँदा ध्यान नपुग्दा ज्यानै जाने गरेको बताए । उनका अनुसार कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानि गर्छ ।

डा. कोइरालाका अनुसार कार्बन मोनोअक्साइड विषाक्त रासायनिक ग्यास भएकाले आगो बालेर बन्द गरिएको कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हुँदै जान्छ । अक्सिजन कम हुने बित्तिकै कार्बनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ । यो ग्याँस हावाभन्दा तीन गुणा हलुको हुन्छ । यसको मुख्य स्रोतहरूमा दाउराको आगो, गाडीको इन्जिन, ग्यास, तेल, कोइला, पेट्रोल, स्टोभ आदि हुन् ।

डा.विकास खड्का भन्छन्, ‘‘कोठालाई न्यानो बनाउन हिटर, कोइलाजस्ता सामान बालेर सुत्नु नै ज्यान जानुको प्रमुख कारण हो ।’’ विशेष गरी जाडोयाममा राति सुतेको मान्छे बिहान मृत अवस्थामा रहेका धेरै घटना बाहिर आएका छन् । यस्ता गतिविधिले कोठामा अक्सिजनको कमी भई मानिसको निसासिएर मृत्यु हुने डा.खड्काको भनाइ छ ।

उनका अनुसार, कोठामा भेन्टिलेसन छैन र त्यस्तो कोठा पूर्ण बन्द गरेर न्यायो पार्ने सामग्री बालेर सुत्नु एकदमै खतरनाक काम हो । यसले अक्सिजनको मात्रा पर्याप्त नपुगी मानिसको ज्यान जान सक्छ । कोठा न्यानो पार्नका लागि बालिने कोइला, दाउरा ग्यास हिटर, होलोजन हिटरबाट प्रशस्त मात्रा कार्बन मोनोअक्साइड ग्यास निस्कने जानकारी दिँदै डा. खड्काले भने,  ‘‘ग्यास बाहिर जान नपाएपछि मानिसको निसासिएर मृत्यु हुने गर्छ ।

डा खड्काले हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै गएमा चक्कर लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने, छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोश अथवा अर्धचेत हुनेजस्ता लक्षण देखिने बताए । यही समयमै थाहा नपाए मानिसको मृत्यु हुने गर्दछ । यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गर्न डा. खड्काको सुझाव छ ।

हिटर प्रयोग गर्दा झ्यालढोका खुला राख्नुपर्छ भने रातभरि हिटर बालेर छाड्ने, हिटर नजिकै बस्ने गर्नाले पनि दुर्घटना निम्त्याउन सक्छ । उनले रातभर हिटर बालेर नराख्ने, बाल्नुपरे पनि केही समय शरीर तताएर हिटर बन्द गर्नु नै सबैभन्दा उत्तम उपाय रहेको बताए ।  विशेषगरी बालबालिका, गर्भवती र वृद्धवृद्धाले बढी सावधानी अपनाउनुपर्छ ।

श्वासप्रश्वास डाक्टर विनोद ढकालले भने, ‘‘इन्धन र अक्सिजनको रासायनिक प्रतिक्रिया भएर नै आगो बल्ने हो । यसले गर्दा कोठाभित्रको अक्सिजन आगो बल्नमै खपत हुन्छ, जसले गर्दा बन्द कोठामा आगो बाल्दा मान्छेका लागि अझै हानिकारक ग्यास कार्बनमोनोअक्साइडको मात्रा बढ्दै जान्छ । मोनोअक्साइड जति फैलियो, मान्छेलाई सास फेर्न उति गाह्रो हुँदै जान्छ ।’’

होश भएको मान्छेले श्वास फेर्न अप्ठ्यारो भएको सजिलै थाहा पाउँछ तथा सुतेको छ भने त्यो बेहोशीमा जान्छ । बेहोशीमा गएपछि कुनै प्रतिक्रिया जनाउन नसक्ने कारण मृत्यु हुने जानकारी उनले दिए । डा. ढकालका अनुसार, निदाएका बेला शरीर प्रतिक्रियाविहीन र अर्धचेत हुन्छ, अक्सिजनको मात्रा कम भएको चालै पाउँदैनन् र शरीर क्रमशः निष्क्रिय हुँदै जान्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!