
विराटनगर । विराटनगरमा करेन्ट लागेर एकजनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-१४ महत्तो टोलका ४० वर्षीय धजनलाल महत्तो रहेका छन् ।
बुधवार दिउँसो साँढे ३ बजेको समयमा आफ्नै घर अगाडि रहेको कदमको रुखको हांगा झार्ने क्रममा रुखको हांगाले विद्युतको मुख्य तारमा छुन गई करेन्ट लागेकाे थियो । करेन्ट लाग्दा उनी रुखबाट झरेर घाईते भएका थिए ।
गम्भीर घाइते महत्तोलाई उपचारको लागी कोशी अस्पताल पठाइएकोमा उपचारको क्रममा बेलुका सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ । यस विषमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राइले जनाएका छन् ।