
ढाका, १३ पुस । बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको शुरुआत हुनेछ । कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्रिया शुरु गरिसकेकाले अर्काे हप्ताबाट मल ढुवानी थालिने बङ्गलादेशस्थित नेपाली राजदूत डा वंशीधर मिश्रले जानकारी दिए ।
सम्झौताअनुसार एलसी खोलेको १० दिनभित्रमा मल ढुवानी शुरु गरिसक्नुपर्ने र दुई महिनाभित्रमा ढुवानी सक्नुपर्ने हुन्छ । सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउँदै छ । मल भित्र्याउँदा प्रतिमेट्रिकटन ३५९ दशमलव ५ डलर बराबर लाग्ने जनाइएको छ । यो हाल आयात भइरहेको मलको तुलनामा प्रतिमेट्रिकटन झण्डै साढे १८ डलरको दरले सस्तो हो । “विश्वकै उच्च गुणस्तरीय मल यसरी नेपाल जाँदा ५० हजार मेट्रिकटनमा झण्डै रु १० करोड नेपाली रुपैयाँ बचत हुन्छ”, उनले भने ।
युरिया मलको ढुवानी हुनु दुईदेशका बीचमा नयाँ फड्कोका रुपमा लिइएको छ । यसले विद्युत् व्यापारलगायत अन्य सम्पर्क सञ्जाल विस्तारका लागिसमेत सहयोग पुग्ने विश्वास दुवै देशको छ ।
हुन त बङ्गलादेशमा हरेक वर्ष २५ लाख मेट्रिकटन मल खपत हुन्छ । यहाँ १० लाख मेट्रिक टन आफैँले उत्पादन गरे पनि १५ लाख मेट्रिकटन आयात हुँदै आएको छ । त्यसैले बङ्गलादेशले मल बिक्री गर्ने भन्ने कुरा हुँदैन । नेपाललाई ५० हजार मेट्रिकटन मल चाँहिने कुरा बङ्गलादेशका लागि सानो परिमाण हो । त्यसैले नेपालले गरेको कूटनीतिक पहललाई बङ्गलादेशले सहर्ष स्वीकार गरेको गरेको हो ।
मल निर्यात गर्ने नीति बङ्गलादेशको छैन । यसका लागि माथिल्लो तहको निर्णय चाहिने हुँदा प्रधानमन्त्री तहमा कुरा भयो भने मल ढुवानीको काम सम्भव छ भनेर सुझाव आएपछि त्यहीअनुसार पहल गरेको राजदूत डा मिश्रले जानकारी दिए ।
सरकारले गत अप्रिलदेखि बङ्गलादेशसँग मल ल्याउने विषयमा छलफल चलाएको थियो । जुन १ मा दुवै देशका प्रधानमन्त्रीबीच कुराकानी हुँदा मल पठाउन सहमति जुटेको थियो । सोहीअनुसार झण्डै आठ महिनापछि प्रक्रियाले पूर्ण रुप लिएको छ ।
शुरुमा पैँचो ल्याउने गरी छलफल भएको थियो । पैँचोको भुक्तानी कसरी गर्ने भन्ने कुरा प्रशासनिक तहमा छलफल हुँदासमस्या आउने देखिएपछि प्रक्रिया नयाँ चरणमा जानुपर्ने भएकाले केही ढिलाइ भएको उनले बताए ।