
काठमाडौं– बेलायतबाट नेपाल फर्किएकाहरुमध्ये केहीमा संक्रमण देखिए पनि नयाँ प्रजातिको भाइरस संक्रमण हो वा होइन भन्ने पुष्टि भएको छैन । हो वा होइन भनि यकिन गर्न जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । त्यसैले जिन सिक्वेन्सिङको प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही दिनअघि आएकाहरुलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निगरानीमा राखेको छ । बेलायतबाट फर्केका मध्ये केहिमा संक्रमण पुष्टि भएको छ ।
पुष १ गते पछि बेलायतबाट नेपाल आएका २ सय ७७ जना सबैलाई क्वारेन्टिनमा नै बस्न भनिएको छ । ती मध्ये पछिल्लो समयमा नेपाल भित्रिएका १४ जनालाई भने कोभिड संकट व्यवस्थापन केन्द्रले नै संस्थागत क्वारेन्टिनमा राखेको छ ।
बेलायतबाट आएका मध्ये केहीमा संक्रमण देखिएको छ । तर उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो भन्ने पुष्टी भने भएको छैन । हो होईन पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने भएकोले त्यस्को प्रक्रिया अघि बढाईसकिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जानकारी दिए ।
मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो । नयाँ प्रजातिको भाइरसका बिरामीको लक्षण पनि कोभिड–१९ कै जस्तै हुने चिकित्सकको भनाई छ ।