
काठमाडौँ, १४ पुस । लकडाउन र समयमा मनसुन सुरु भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ तर पछिल्लो समय युरिया मलको अभावका कारण प्रक्षेपण गरेअनुसारको धान उत्पादन भने हुन सकेन ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार यसपटक ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा ७० हजार ८३१ मेट्रिक टन बढी धान उत्पादन भएको हो ।
मन्त्रालयका अनुसार गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार यसपालि उत्पादकत्व हालसम्मकै सबैभन्दा बढी ३.८२ प्रतिशत पुगेको छ, जुन गत वर्षभन्दा ०.२८ प्रतिशतले बढी हो ।
कोरोना महामारीका कारण सहरका मान्छे गाउँ पुगेका कारण धान खेतीको क्षेत्रफलमा पनि वृद्धि भएको छ । गत वर्ष १४ लाख ५५९ हेक्टरमा खेती भएकोमा यसपटक वृद्धि भई १४ लाख ७३ हजार ४७४ हेक्टर पुगेको हो । यसरी क्षेत्रफलमा वृद्धि भएका कारण धान उत्पादनमा पनि वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
विगत पाँच वर्षको धान उत्पादन विश्लेषण गर्दा आर्थिक वर्ष २०७३/७४ को तुलनामा यो उत्पादन करिब ७.४८ प्रतिशतले बढी अर्थात् तीन लाख ९१ हजार मेट्रिक टनले बढी भएको मन्त्रालयले जनाएको छ । २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५, २०७५/०७६ मा ५६ लाख १० हजार ११, र २०७६/७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो ।
प्रदेशमा उत्पादन
मन्त्रालयले सातवटै प्रदेशमा दुई आर्थिक वर्षमा उत्पादन भएको तथ्याङ्क पनि उपलब्ध गराएको छ । त्यसमा सबैभन्दा बढी उत्पादन प्रदेश २ मा भएको छ । प्रदेश दुई मा तीन लाख ८२ हजार २७५ हेक्टरमा खेती भएको थियो । जसमा १४ लाख ३२ हजार ८१९ मेट्रिक टन धान उत्पादन भएको छ ।
प्रदेश १ को तीन लाख ३० हजार ४३८ हेक्टरमा १२ लाख ७५ हजार ५५४, बागमती प्रदेशको एक लाख ३२ हजार ८१३ हेक्टरमा पाँच लाख नौ हजार ५९०, गण्डकी प्रदेशको एक लाख छ हजार ५४१ हेक्टरमा तीन लाख ९७ हजार ९४, लुम्बिनी प्रदेशको तीन लाख सात हजार १४९ हेक्टरमा १२ लाख २४ हजार ४९७, कर्णाली प्रदेशको ३९ हजार ४१ हेक्टरमा एक लाख ३७ हजार १६५ र सुदूरपश्चिम प्रदेशको एक लाख ७५ हजार २१८ हेक्टरमा छ लाख ४४ हजार ९९१ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।