
झापा, १६ पुस । झापामा पहिलोपटक प्याजको व्यावसायिक खेती शुरु भएकाे छ । यसअघि सप्तरी, बारा, सिराहा, रौतहट, कैलाली, रूपन्देही, धनुषा, सर्लाही, खोटाङमा प्याजको व्यावसायिक खेती गरिँदै आएको छ भने झापामा यो पहिलो हो । पहिलोपटक उत्साही तीन युवाले झापा गाउँपालिका–६ मा व्यावसायिक प्याज खेती शुरु गरेका हुन् ।
फिदिम नगरपालिका–११ का सुमन न्यौपाने, बुद्धशान्ति गाउँपालिका–३ का केशव भूर्तेल र स्थानीय सोमनाथ प्रसाइँ मिलेर प्याज खेती शुरु गरेका हुन् । ती युवाले १० वर्षका लागि २२ बिघा जग्गा भाडामा लिएर कोरियाली प्रविधिद्वारा व्यावसायिक प्याज खेती शुरु गरेका छन् ।
केशव भूर्तेलले भने, “झापालाई प्याजमा आत्मनिर्भर हाम्रो लक्ष्य छ । यहाँको मागलाई धान्न आफ्नै खेतबारीमा प्याज फलाउन सकिन्छ भन्ने किसानलाई सन्देश दिन पनि हामीले प्याजको खेती शुरु गरेका हौँ ।” उनीहरुमध्ये न्यौपाने कोरियाबाट फर्केका युवा हुन् । कोरियामा सिकेको सीपलाई आफ्नै देशमा प्रयोग गरेर जिल्लासँगै नेपाललाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको भूर्तेलले बताए ।
उनीहरुले शुरुमा २२ बिघाबाट शुरु गरे पनि भविष्यमा ५० बिघामा खेतीको विस्तार गर्ने बताए । यतिबेला उनहरुले प्याजको बेर्ना रोप्न शुरु गरेका छन् । प्रतिबिघा १० हजार केजी प्याज फलाउने उनीहरुको योजना छ ।
स्थानीयवासीलाई रोजगारी मिल्ने र बजारको पनि समस्या नहुँदा प्याज खेतीबाट मनग्य आम्दानी हुने स्थानीयवासी सोमनाथ प्रसाईँले बताए । उनले प्याजको बेर्ना लगाउन शुरु गरिएको हुँदा यतिबेला ५० जनालाई रोजगारी दिएको बताए ।
उनीहरुले मल्सिङ प्रविधिबाट प्याज खेती शुरु गरेको जानकारी दिए । कृषि ज्ञान केन्द्र झापाका कृषिविद् शालिकराम भट्टराईले प्याज खेतीका लागि बलौटे माटो चाहिने हुँदा झापा त्यसका लागि उपयुक्त रहेको बताए । प्याज रोपेको चार महिनामा बजार पठाउन मिल्ने उनको भनाइ छ ।