
बेइजिङ, १६ पुस । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।
यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बुधबार मात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो ।
पश्चिमा मुलुकका फर्मास्यूटिकल कम्पनीहरु फाइजर र मोडर्नाले विकास गरेका खोपहरु क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो । चिनियाँ स्वास्थ्य प्रशासनका उप आयुक्त चेन सिफीले संवाददाताहरुसँग कुरा गर्दै सिनोफार्मको खोपलाई “सःशर्त” अनुमति दिइएको जानकारी दिए । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरु वृद्धवृद्धा र अरु जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिए । चीनका करिब १ अर्ब ३० करोड नागरिक सबैलाई खोप प्रदान गर्न अभूतपूर्व चुनौती छ ।