
धादिङ, १७ पुस । ग्रामिण सडक निर्माणका क्रममा भूक्षय नियन्त्रणका लागि रोपिएको अम्रिसो दक्षिणी धादिङका विपन्न बर्गका मानिसहरुलाई आम्दानीको राम्रो श्रोत बनेको छ । सडक छेउछाउमा रोपिएको अम्रिसो फुल्न थालेपछि त्यसको कुचो विक्रिबाट उनिहरुले आम्दानी गर्न थालेका हुन् ।
वर्षाका कारण नयाँ सडकहरुमा पहिरो जाने र माटो बगाउने समस्या आउन थालेपछि दक्षिणी धादिङस्थित दोभानखर्कका स्थानीयहरुले आँफैले अम्रिसो रोपेको थिए । अहिले त त्यसले आम्दानीसमेत दिन थालेको भन्दै अम्रिसोको ब्यापारमा स्थानीय लागेका छन् ।
अम्रिसो कुचोको रुपमा निकै प्रयोग हुने र माग पनि बढ्न थालेपछि खेर जाने गरेको अम्रिसोको फुल प्रयोगमा ल्याउन थालिएको उनीहरु बताउँछन् । त्यसो त पशुपालनमा पनि यसले निकै सहयोग पुगेको छ ।
घाँस निकै पोषिलो हुने भएकोले बाख्रापालक किसानहरुलाई अम्रिसोबाट दोहोरो फाइदा पुगेको छ । ग्रामिण सडकको डिलमा र खेर गएको भिरालो जमिनमा अम्रिसो राम्रोसँग फस्टाएको छ ।
दुईवर्ष अघिदेखि आम्दानी लिन थालेका यस क्षेत्रमा स्थानीयले अम्रिसोलाई नगदे बाली जस्तै भएको बताउँछन् ।
आम्रिसोको कुचो बनाई प्रति गोटा पचास रुपैँयामा घरबाटै विक्रि हुने गरेको स्थानीय बताउँछन । अम्रिसोबाट पचास हजारदेखि एक लाखसम्म बार्षिक आम्दानी गर्ने गरेको स्थानीयहरुको अनुभव छ । रोपेपछि आम्दानी लिन त्यती धेरै मिहिनेत गर्नु नपर्ने र बहुपक्षीय फाइदा हुने अम्रिसो खेतीतर्फ किसानको पनि आकर्षण बढ्दै गएको छ । गजुरी गाउँपालिकाको विकट मानिने दोभावखर्क,बाङ्गे पाखुरेका स्थानीयहरुले अहिले अम्रिसोलाई आम्दानीको श्रोत बनाई ब्यवसायिक खेती गर्न थालेका छन् ।