
महेन्द्रनगर, १८ पुस । कञ्चनपुरको बेलौरी नगरपालिका–३ का शिवु राना गत फागुनमा मलेशियाबाट घर बिदामा आए । वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्ष मलेशिया बिताएर बिदामा आएको केही समयपछि कोरोना भाइरस सङ्क्रमणले मुलुकमा बन्दाबन्दी भएपछि रानाको मलेशिया जाने सोच सफल हुन सकेन् ।
गत चैतको दोस्रो सातादेखि यहाँ बन्दाबन्दी गरिएपछि घर खर्च चलाउने चिन्ताले केही समय गाउँमै भौँतारिएका रानाले गत भदौदेखि च्याउखेती थालेका छन् । “रु ४० हजार लगानी गरेर घरमै च्याउखेती गरेका थिए, अहिले रु ८० हजार कमाइसकेको छु”, रानाले भने, “च्याउखेतीको तालीम लिएर अहिले गोब्रे च्याउखेती गरेको छु ।”
आफ्नै भूमिमा आयमूलक काममा लाग्ने प्रण गरेपछि च्याउखेती थालेका राना आफू सन्तुष्ट रहेको बताए । “कोरोना प्रभावित र गाम्रीण बस्तीसम्म सरकारको कृषि अनुदानको रकम पुग्नसके यहाँ स्वदेशी उत्पादन जे पनि गर्न सकिन्छ”, उनले भने, “प्रदेश सरकारले पनि कोरोना प्रभावित युवालाई स्वरोजगार बनाउन आवेदन दिए पनि गाउँमा त्यसबारे जानकारी नै भएन ।”
त्यसैगरी बेलौरी नगरपालिका–३ का वडाध्यक्ष नेत्रराज गिरीले गाउँमा तरकारीखेती, च्याउखेती र विभिन्न आयमूलक काममा युवाको आर्कषण बढिरहेको बताए । “तरकारी फलाएर यहाँ धेरैले घरको जीविका आनन्दले चलाएका छन्”, वडाध्यक्ष गिरीले भने, “यहाँ उत्पादित बस्तुभाउ बजारसम्म पु¥याउन सवारीसाधनको समस्या देखिएको छ ।”