
विराटनगर, १९ पुस । विराटनगर श्रम तथा रोजगार कार्यालय तोडफोड भएकाे छ । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयभित्र दुई जना मजदुर नेता प्रवेश गरेर आइतबार तोडफोड गरेका हुन् ।
सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर प्रालीमा कार्यरत रमेश थापा र सुशील गच्छदारले कार्यालयमा तोडफोड गरेकाे कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सन्जेलले जानकारी दिए ।
तोडफोडमा सङ्लग्न थापा नेपाल कारखाना श्रमिक सङ्घ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनसरी अध्यक्ष हुन् । उनीहरुले कार्यालय हाताभित्र प्रवेश गरेर पूर्वतर्फको सीसाको झ्यालमा ढुंगाले हानेर फुटाएको उनले बताए ।
उनले कार्यालयमा तोडफोड गर्नेविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङमा गाली बेइज्जती ऐन र सार्वजानिक अपराध ऐन मुताविक कारवाहीको माग गर्दै निवेदन दिएका छन् ।
कार्यालयमा बसेर काम गर्न असुरक्षित भएको भन्दै हतियारसहितको सुरक्षाकर्मीको व्यवस्था मिलाईदिन पनि सञ्जेलले माग राखेका छन् । के कारणले ती युवाले तोडफोड गरे त्यो भने खुलिसकेको छैन ।