२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २० पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल उद्योगीलाई तेलको मूल्य बढ्नुको कारण पेश गर्न निर्देशन दिएको छ । विभागले भाेलि मङ्गलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन दिएको हो ।

विभागले आइतबार राजधानीमा तेल उद्योगीसँग गरेको छलफल गर्दै उद्योगीलाई मङ्गलबारभित्र कारण पेस गर्न निर्देशन दिएको हो । साथै छलफलका क्रममा उद्योगीले तेल सनफ्लावर र सोयाबिनको तेल कच्चा पदार्थका कारण महँगो भए पनि तोरीको भाउ नबढेको दाबी गरेको पनि विभागले जनाएको छ ।

यता व्यापारीले भने सनफ्लावर र सोयाबिनको तेलसँगै तोरीको तेलको भाउ पनि बढेको बताउँदै आएका छन् । विभागका अनुसार छलफलमा तेल उत्पादनका मुख्य उद्योग शिवशक्ति, दुगड, गणपति, केडियाका प्रतिनिधिको सहभागिता थियो ।

विभागका बजार अनुगमन निर्देशक सागर मिश्रले तेलको भाउ बढ्नुको कारणसहित मङ्गलबार कागजात पेस गर्न निर्देशन दिएको र चित्तबुझ्दो जवाफ नआएकाले कानुनअनुसार अगाडि बढ्ने बताए । छलफलमा सोयाबिनको तेल भारतमा निर्यात गरेको उद्योगीले पनि स्वीकार गरेकाले आन्तरिक बजारलाई नपुगेसम्म बाहिर निर्यात नगर्न आग्रह गरिएको पनि उनले जानकारी दिए ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई/तीन महिनाको बीचमा खानेतेल विशेष गरी सोयाबिन र सनफ्लावरमा प्रतिकार्टोन तीन सय रुपियाँसम्म महँगो भएको छ । अझै पछिल्लो एक महिनायता सोयाबिन तेल अझै बढेको छ । विभागका निर्देशक मिश्रले उद्योगीले तोरीको तेलको भाउ नबढेको भनेकाले अब बजार अनुगमन गरिने र बिनाकारण बढाएको पाइयो भने त्यस्ता व्यापारीलाई नछोड्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!