
काठमाडौँ, २१ पुस । भारतले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ । नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार जनकपुर–जयनगर रेल सञ्चालनका लागि भारतको कोङ्कर्ण रेल्वे कर्पाेरेसनले प्रस्ताव राखेकाे हो ।
नेपालले माग गरे अनुसारको तत्काल आवश्यक पर्ने प्राविधिक कर्मचारीको आपूर्तिका साथै रेल सञ्चालनको समग्र व्यवस्थापनका लागि सो कर्पाेरेसनले प्रस्ताव गरेको उनले जानकारी दिए ।
‘‘रेल्वे कम्पनीलाई प्राप्त भएको भारतीय प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकिएको छ, अहिले प्रस्तावमाथि मन्त्रालय स्तरीय छलफल भइरहेको छ’’ महाप्रबन्धक भट्टराईले स्पष्ट पारे ।
उक्त प्रस्तावमाथि छलफल गरी अन्तिम स्वीकृतिका लागि यसै हप्ता मन्त्रिपरिषद्मा पेस गरिने उनले जानकारी दिए । भारतको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न रेल्वे कम्पनीको सञ्चालक समितिले समेत निर्णय गरिसकेको उनले जानकारी दिए ।
मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत हुने बित्तिकै ‘जी टू जी’ माध्यमबाट भारतसँग सम्झौता गरी जनशक्ति आपूर्ति गरिनेछ । उनले भने, ‘‘रेल सेवा सञ्चालनका लागि तत्काल आवश्यक पर्ने २६ जना ‘कोर’ प्राविधिक कर्मचारी आपूर्तिका साथै रेल मर्मत सम्भार तथा ‘इमर्जेन्सी रिले’का आवश्यक उपकरणको आपूर्ति, रेलको सर्भिसिङ, नेपाल रेल्वे कर्मचारीलाई तालिम दिने, कर्मचारीको काम कर्तव्यबारे ‘स्ट्यान्डर्ड डकुमेन्ट’ निर्माण गर्नेलगायतबारे भारतबाट नेपाललाई प्रस्ताव प्राप्त भएको हो ।’’
नेपाल पठाउनका लागि रेल्वे कर्मचारी तयारी अवस्थामा राखिएको जनाइएको छ । मन्त्रिपरिषद्को स्वीकृति प्राप्त हुने बित्तिकै भारतसँग सम्झौता गरी त्यहाँका कर्मचारी बोलाएर कर्मचारीलाई तालिम दिने योजना छ । उनले भने, ‘‘करिब दुई हप्ता तालिमको काम हुन्छ र त्यसपछि उक्त रेल सेवाको विधिवत् रूपमा उद्घाटन गरिनेछ ।’’ माघभरिमा यो सबै काम सम्पन्न हुने उनले स्पष्ट पारे ।