२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

महेन्द्रनगर, २३ पुस ।  कञ्चनपुरको बेलौरी नगरपालिका–३ का फुलाराम चौधरी तरकारी खेती गर्न थालेको नौ वर्ष भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछि सरकारले उपलब्ध गराएको जग्गामा तरकारी खेती गरेका चौधरीले अन्नखेती गर्न गाउँमा थप जग्गा समेत भाडामा लिएका छन् ।

धानगहुँ भन्दा तरकारीमा मुनाफा बढी हुने देखिएपछि चारैजना तरकारी खेतीमै लागेकाे बताउँदै उनले भने, ”अहिले हाम्रो परिवारको खर्च चलेकै तरकारीबाट भएको आम्दानीले नै हो ।” यसअघि गाउँमा थोरै सङ्ख्यामा कृषक तरकारी खेतीमा लागेको भए पनि केही समयअघि गाउँमा दातृ निकायले सोलार सिँचाइ जडान गरिदिएपछि गाउँमा तरकारी खेतीमा आकर्षण बढेको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) ले गाउँमा आयमूलक काममा लाग्न प्रेरित गर्न सोलार सिँचाइ जडान गरिदिएपछि गाउँमा १५ जना कृषक तरकारी खेतीमा आवद्ध भएका छन् । १७ कठ्ठा जमिनमा तरकारी खेती गरिरहेका चौधरीले कुनै पनि सरकारी निकायबाट गाउँमा कसैले पनि कृषि अनुदान नपाएको गुनासो गरे ।

“कृषिबाट अनुदान मिल्न भन्ने त सुन्छाैं तर पाएका छैनौं”, उनले भने, “तरकारीको कमाइ समूह बनाएर बचत गर्ने बानीको पनि विकास यहाँ भएको छ ।” उनले एनएनएसडब्लुएले सिँचाइका लागि सोलार सेट, जडानका लागि लगानी र बोरिङ उपलब्ध गराएको बताए । यहाँ उत्पादित तरकारी स्थानीय बेलौरी बजार, धनगढी र महेन्द्रनगरसम्म खपत हुने गरेको कृषकको भनाइ छ ।

बेलौरी नगरपालिका–३ का वडासदस्य जगन्नाथ चौधरीले तरकारीका लागि बजारको समस्या नरहेको बताए । उनले स्थानीयवासी तरकारी खेतीलाई आयआर्जनको मुख्य पेशा बनाउँदै गइरहेको बताए ।

स्थानीय जनजागृति कृषि सहकारीमा आवद्ध भएर गाउँमा कृषक तरकारी खेती, कुखुरापालन, माछापालनलगायत काममा सक्रिय भएर लागेको चौधरीको भनाइ छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि हाटबजार बन्द हुँदा बिक्री वितरणमा केही समस्या आएको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सफल परियोजनाअन्तर्गत सोलार सिँचाइ उपलब्ध गराइएको हो । सफल परियोजनाका संयोजक राजकुमार सुनारले रु तीन लाख ८० हजारको लागतमा उक्त सिँचाइ सञ्चालनमा ल्याइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!