
विराटनगर, २३ पुस । स्पेनिस ला लिगामा बार्सिलोनाले कठिन जित निकालेकाे छ । बुधबार राति बार्सिलोनाले एथ्लेटिक क्लबमाथि ३–२ गोलको जित निकालेकाे हो । एथ्लेटिकको मैदानमा बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोल गरे भने पेड्रीले एक गोल गरे । एथ्लेटिकका इनाकी विलियम्सले एक गोल गरे ।
घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमा नै विलियम्सले गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाए । तर, खेलको १४ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
खेलको ६२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३-१ ले अघि रह्यो । त्यसपछि खेलको ९०औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काएपनि बार्सिलोना ३-२ ले विजयी भयो ।
यससँगै बार्सिलोना १७ खेलमा ३१ अङ्क जोड्दै शीर्ष तीनमा उक्लिएकाे छ । एथ्लेटिक भने २१ अङ्कका साथ नवौं स्थानमा छ ।