
काठमाडाैं, २४ पुस । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बिहीबार बसेको आयोग बैठकले सो निर्णय गरेको जानकारी सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले दिए ।
आयोगले नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर अलग–अलग पत्राचार गरेको छ । पुस ५ मा प्रतिनिधि सभाको विघटन भएसँगै नेकपाभित्रको विवाद आयोगमा पुगेपछि आयोगले यो दोस्रो पटक दुवै पक्षलाई पत्राचार गरेको हो ।
आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ को ४ अनुसार दुवै पक्षलाई पत्र पठाएको हो । नियम २५ को ५ मा सात दिनभित्र दुवै पक्षबाट विवरण प्राप्त भएमा र आयोग त्यसमा सन्तुष्ट भएमा सोबमोजिमको अभिलेख अद्यावधिक गरी राख्नेछ ।