
विराटनगर । कप्तान लियोनल मेस्सी र फरवार्ड एन्टाेइन ग्रिजम्यान चम्किँदा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडालाई ४-० गोलअन्तरले पराजित गरेकाे हो ।
ग्रानडाको मैदानमा खेलको १२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
४२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३-० ले अघि रह्यो । त्यसपछि खेलको ६३ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।
यस्तै खेलको ७८ औं मिनेटमा जिसस भालेजोले रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै बार्सिलोना शीर्ष तीनमा उक्लिएको छ । उसले १८ खेलबाट ३४ अङ्क जोडेको छ । पराजित ग्रानडा भने २४ अङ्कसहित सातौं स्थानमा छ ।