
काठमाडौँ, २६ पुस । विश्वहिन्दू युवा संघले गाँजालाई बैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्वहिन्दू युवा संघले गाँजा जडिबुटी भएकाले वैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग राखेको हो ।
नेपालमा रहेको बहुमूल्य जडिबुटी रुख विरुवा रव्यवसायिक खेती गरेर विश्वबजारमा पुर्याउनुपर्ने संघले माग राखेको छ । कार्यक्रममा विश्वहिन्दू युवा संघका संयोजक ऋषिकेशजंग शाहले विभिन्न षड्यन्त्रद्वारा नेपालको बहुमुल्य बनस्पती गाँजामाथि लगाईएको प्रतिबन्धलाई हटाउन आगामी पौष २७ गते राष्ट्रिय दिवसको अवसरमा मैलिक पोशाक र बाजासहित माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने बताए ।
उनले भने,‘देशभर गाँजाको महत्व र यसबाट हुने विभिन्न उत्पादनका बारेमा जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिने छ ।’
कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य गेलीशेर्पा, रमेश कुँवर र बालक्लबकाअध्यक्ष मनोज थापाले संयुक्त रुपमा नेपालमा गाँजामाथि लगाइएको प्रतिबन्ध हटाउन र बैधानिकता दिनुपर्नेमा जोड दिएका थिए । संघका केन्द्रीय सदस्य शेर्पाले भने,‘ नेपाललाई गााँजामाथिको प्रतिबन्ध हटाउनु पर्छ । नेपालका आधाभन्दा बढी जनसंख्या गाँजालाई बैधानिकता दिँदा समृद्व हुनेछ ।’ अगामी पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने समेत उनीहरुको भनाई थियो ।