२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

राैतहट, पुस २६ गते । बिरुवाको व्यवसाय गरेरै रौतहटको एउटा गाउँ उदाहरणीय बनेको छ । रौतहटको कटहरिया नगरपालिका–३, बिर्ती प्रस्टोकाका स्थानीयले पुस्तौँदेखि रुख बिरुवाको व्यवसाय गरेर वर्षमा २५ करोड रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् ।

पछिल्लो समय गाउँलाई नै नर्सरी गाउँका रूपमा चिनाउने गरी व्यवसाय गर्दा त्यसैबाट आत्मनिर्भर बनेका छन् । बिर्ती प्रस्टोकाका प्रत्येक किसान व्यावसायिक रूपमा नै नर्सरी व्यवसायमा लागेका छन् । नर्सरीबाट राम्रो आम्दानी हुने भएपछि त्यहाँका युवा अन्य पेसा छाडेर नर्सर व्यवसायतिरै लागेका छन् । थोरै लागत र मिहिनेतबाट बढी आम्दानी हुने भएपछि यहाँका युवा नर्सरी व्यवसायतर्फ आकर्षित भएका हुन् ।

हाल बिर्ती प्रस्टोकामा करिब ७० बिघाभन्दा बढी क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवाको खेती गरिएको छ । त्यसका साथै धान, मकै तथा कोदो जस्ता अन्नबाली पनि फलाउँदै आएका छन् तर त्यो घट्दो र नर्सरी व्यवसाय नै बढ्दो छ ।

परम्परागत खेतीले वर्षभर खाना नपुग्ने जमिनमा बिरुवा उत्पादन गर्न थालेपछि अहिले अझ राम्रो कमाइ भइरहेको नर्सरी व्यवसायी बताउँछन् । जमिन पनि धेरै आवश्यक नपर्ने र मौसम अनुसारको फलफूलका बिरुवा उत्पादन गरेर बिक्री गर्दा धेरै आम्दानी भएको उनीहरूको भनाइ छ । उनीहरूले तयार पारेका बिरुवा देशका विभिन्न भागमा जाने गरेको छ । नर्सरीबाट करिब पाँच सय मजदुरले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् ।

बिर्ती प्रस्टोकाका किसानले आँप, लिची, कटहर, कागती, सुन्तला, स्याउ, अम्बा, नासपाती, अनार, केरा, टिमुर, अलैँची, ओखर, एभोकाडो, नरिवल, सुपारी, ल्वाङ, अमिलो लगायतका फलफूल प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् । त्यस्तै बकाइनो, टाँकी, बडहर, किमु, बाँस, सिसौ, सिमल, जामुन, टिक, पलोनिया, रुद्राक्ष, रक्तचन्दन लगायका बिरुवा पनि उत्पादन हुँदै आएका छन् । घर सजावटका बिरुवामा अशोक, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते, गुलाब लगायतका बिरुवाको उत्पादन नर्सरीमा हुँदै आएको छ ।

बिर्ती प्रस्टोका घर भएका जनता समाजवादी पार्टीका नेता रहेका खेन्हा राय यादवले तीन बिघा खेतमा फलफूल प्रजातिका बिरुवा लगाएका छन् । बिरुवा उत्पादन गरेर नै वार्षिक २० देखि ३० लाख रुपियाँसम्म आम्दानी गर्दै आएको यादवले बताए । उनले सुरुमा नर्सरी तथा फलफूल उद्योग दर्ता गरेर व्यवसाय सञ्चालन गर्दा उनले धेरै चुनौतीको सामना गर्नुपरेको बताए ।

उनलाई बिरुवा बिक्री गर्न निकै समस्या भयो । यादवले भने, “बिरुवा उत्पादन त भए तर खरिदकर्ता कोही आएन । आफैँ बिरुवा बिक्री गर्न बजार र गाउँघरमा खटिएपछि थोरै बिक्री भए । ” बिरुवा बिक्री नहुँदा यादवले पहिलो वर्ष केही घाटा बेहोर्नु परे पनि हिम्मत भने हारेनन् । दोस्रो वर्षदेखि ग्राहकको रोजाइमा पर्ने बोट बिरुवा उत्पादन गरेपछि सहजै बिक्री हुन थालेको र यसबाट राम्रो आम्दानी पनि भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!