
काठमाडौँ, २७ पुस । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरानो र नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर निर्वाचनको उत्कृष्ट वातावरण बढाउन सबै सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । उनले निर्वाचनमा सरकारी स्वामित्वका सञ्चारमाध्यमको राष्ट्रिय दायित्व अन्य सञ्चारमाध्यमको भन्दा बढी रहेकाले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउन पनि जोड दिए ।
निर्वाचनका लागि आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको चर्चा गर्दै सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यमको सहयोगबाट निर्वाचनको उपयुक्त वातावरण तयार गर्न सञ्चार माध्यमको ठूलो भूमिका रहेको बताए । आफ्नो पेसागत दक्षता र सीपलाई प्रयोग गरेर देशलाई निर्वाचनमय बनाउन सरकारी स्वामित्वका सञ्चार माध्यम स्वतन्त्र रहेको पनि स्पष्ट पारे ।
सरकारी स्वामित्वका सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरूले आइतबार प्रमुख निर्वाचन आयुक्त थपलिया र आयोगका सचिव देवकुमारी गुरागाईंलाई आ–आफ्नो संस्थाले गरेको तयारीबारे जानकारी गराएका थिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गोरखापत्र संस्थान, सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, रेडियो नेपाल, नेपाल टेलिभिजन, नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय समाचार समितिका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो ।