
विराटनगर, २७ पुस । साविक विजेता युभेन्टसले इटालियन सिरी एमा सहज जित निकालेको छ । आइतबार राति युभेन्टसले सासुलोमाथि ३–१ गोलको जित निकालेकाे हो ।
युभेन्टसको जितमा डेनिलो, आरोन राम्से र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरेका थिए । सासुलोका ग्रेजर डेफ्रेले एक गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा सस्सुलो पहिलो हाफको अन्त्यतिर १० खेलाडीमा समेटिएको थियो । फेडरिको चिइसामाथि खराव ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पेड्रो ओवियाङलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थियो ।
५०औं मिनेटमा डानिलोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । ५८औं मिनेटमा ग्रिगोरेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८२औं मिनेटमा आरोन राम्सीले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । उनले जियानलुका फ्राबोट्टाको पासमा गोल गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रोनाल्डोले डानिलोको पासमा गोल गर्दै युभेन्टसलाई ३–१ को सहज जित दिलाए । जितसँगै युभेन्टस चौथो स्थानमा उक्लिएको छ । त्यसबाहेक युभेन्टसले शीर्ष स्थानको एसी मिलानसँग अङ्कदूरी घटाएको छ । युभेन्टसले १६ खेलमा ३३ अङ्क जोडेको छ । शीर्ष स्थानको मिलानसँग ४० अङ्क छ । मिलानले युभेन्टसभन्दा एक खेल बढी खेलेको छ । सासुलो भने २९ अङ्कसहित सातौं स्थानमा छ ।