२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २७ पुस । रोजगार अनुुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २०१७, २०१८ र २०१९ का लागि भाषा परीक्षण उत्तीर्ण गरेका तर जान नपाएकाले दक्षिण कोरिया छिटो जान पाउनुपर्ने माग गर्दै ईपीएस शाखामा आइतबार विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी युवाले भाषा र सीप परीक्षण उत्तीर्ण गरेरसमेत रोजगारीमा जान नपाएको भन्दै वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखालाई छिटो पहल गरेर जाने वातावरण बनाउनुपर्ने माग गरेका हुन् ।

उनीहरूले ईपीएस छिटो जाने वातावरण बनाउन, सबै प्रक्रिया पार गरेकालाई लामो समय नअल्मल्याउन, पुराना नपठाएसम्म नयाँका लागि परीक्षा लिन नपाइनेलगायतका माग राखेका छन् । साथै विरोध कार्यक्रममा सहभागी केही युवाले आफूहरूमध्ये केहीको लेबर कन्ट्रयाक्ट सकिन लागेकाले नवीकरणका लागि समेत पहल गर्न ईपीएस शाखासँग माग गरेका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भाषा परीक्षा उत्तीर्ण गरेर जाने तयारीमा रहेका युवालाई छिट्टै लैजानुपर्ने भन्दै निरन्तर लबिङ गर्दै आएको तर यो विषय नेपाल सरकारले चाहेर मात्रै नहुने बताए । उनले भने, “हाम्रोतर्फबाट निरन्तर पहल गरिरहेका छौँ, श्रमिक माग गर्ने देशबाट अनुमति आउनु पर्यो, आएको छैन, केही समय लाग्न सक्छ, धैर्य गर्नुपर्छ । ”

दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)का प्रतिनिधिसँग विभागले नियमित सम्पर्क गरिरहेको र उनीहरूले कोरोनाको असर कम भएपछि लैजाने प्रतिक्रिया दिएको जानकारी दिए । ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले नेपालले भाषा परीक्षा उत्तीर्ण भएका सबै युवालाई रोजगारीका लागि मार्ग प्रशस्त गर्न कोरियासँग आग्रह गरिरहेको बताए । भाषा परीक्षा उत्तीर्ण सबै युवा कोरिया जाऊन् भनेर प्रयास निरन्तर जारी रहेको उल्लेख गरे ।

भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका युवा जाने क्रम हुँदाहुँदै नेपालमा बन्दाबन्दी सुरु भएको थियो । अझै पनि रोस्टरमा रहेका १० हजार युवा कोरिया जाने प्रतीक्षामा छन् । तीमध्ये पाँच हजार हाराहारी छनोटमा परिसकेका छन् । रोस्टर अवधि दुई वर्षको हुन्छ । दुई वर्षभित्र कोरियाली रोजगारदाताले छनोट गरेनन् भने उनीहरू कोरिया जान पाउँदैनन् । कोरियाले कृषि र औद्योगिक क्षेत्रमा नेपालबाट कामदार लैजाँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!