
जाजरकोट, २८ पुस । जाजरकोटको कुशे गाउँपालिका—५, दम्दालामा अर्गानिक सुन्तला भण्डारका लागि सेलार स्टोर भवन निर्माण गरिएको छ । उचित भण्डारण अभावमा बढी उत्पादन भएको सुन्तला खेर नजाओस् भनेर सुविधा सम्पन्न भण्डारण भवन (सेलार स्टोर) निर्माण भएपछि कृषकलाई सुन्तला भण्डारण गर्न सहज भएको सुन्तला कृषक शक्तिबहादुर ओलीले बताए ।
बेमौससम्मका लागि सेलार स्टोरमा सुन्तला भण्डारण गर्न सहज भएको ओलीको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ जाजरकोटको १२ लाख तथा प्रगतिशिल युवा कृषि सहकारी संस्थाको १२ लाख लागतमा सेलार स्टोर निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ, जाजरकोटका प्रमुख पीताम्बर बस्नेतले जानकारी दिए ।
उचित भण्डारणको अभावमा कृषकले सुन्तला कम मूल्यमा विक्री गर्दै आएका थिए । अब गाउँमै सेलार स्टोर निर्माण भएपछि सुन्तलाको माग बढेका बेला कृषकले बढी मूल्यमा सजिलै विक्री गर्न सहज हुने प्रमुख बस्नेतको भनाई छ । गाउँमै सेलार स्टोर निर्माण भएपछि कुशेका सुन्तला कृषकमा नयाँ उत्साह पलाएको छ । भवनभित्र सुन्तला भण्डारण गर्न सहजताका लागि काठका र्याकहरु निर्माण गरिएका छन् । भवनमा कृषकको मात्र सुन्तला भण्डार गरिनेछ । यसबाट, कुशेमा सुन्तला उत्पादन क्षेत्र विस्तारसँगै वृद्धिमा समेत टेवा पुग्ने देखिएको छ ।