२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जुम्ला, २८ पुस । कालीमार्सी चामलको माग बढ्दै गएपछि जुम्लाका किसानहरूले घरमै खरिदकर्ता पाउन थालेका छन्  । व्यापारीहरू कालीमार्सी धान तथा चामल किन्न घरदैलोमा आइपुग्ने गरेको तातोपानी गाउँपालिका-४ नियापानीका किसान जयबहादुर रोकायाले बताए ।

उनले भने, “प्रतिकेजी धान ७० रुपैयाँ, पाथीमा १५० रुपैयाँ र चामल किलोमा १५० रुपैयाँमा घरबाटै विक्री हुने गरेको छ ।” आफूलाई बढी भएको धान चामल बेचेरै जयबहादुरजस्ता कैयौँ किसानले आफ्नो खर्च जुटाउने गरेका छन् । कालीमार्सी धानको बजार मूल्य सरकारले निर्धारण गरिदिए क्रेता र विक्रेता दुवैलाई सहज हुने किसानहरू बताउँछन् । निश्चित मूल्य नभएकाले ग्राहकले पाँच-दश रुपैयाँ कमबेसीमा विक्री गर्ने गरेका छन्।

जुम्ला बजारमा पसल गर्ने लक्ष्मी श्रेष्ठ चामल तथा धान खरिद गर्न आफैँ गाउँगाउँ पुग्ने गरेको बताउँछिन् । बजारमा कालीमार्सी धान र चामलको माग पूर्ति गर्न आफूहरूलाई मुस्किल पर्दै गएको उनले बताइन्। किसानबाट प्रतिकेजी १३५ रुपैयाँमा खरिद गरेर १८० रुपैयाँ प्रतिकेजीमा जुम्लामा र काठमाण्डूमा ३ सय देखि ५ सय रुपैयाँ प्रतिकेजीसम्म विक्री गर्दै आएको उनले बताइन्।

कालीमार्सी चामलको माग बढ्न थालेपछि सहकारीमार्फत् किसानको घरदैलोमा पुगेर चामल खरिद गर्न थालेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ। एक नगरपालिका र ७ वटा गाउँपालिकामा सङ्कलन केन्द्र स्थापना गरिएको चन्दननाथ सहकारी संस्थाका सदस्य सचिव समेत रहेका जुम्लाका ऋषिराम पाण्डेले बताए । उनले भने, “पछिल्लो समयमा लोप हुँदै गएका जुम्लाका बालीहरू चिनो, कागुनो, तिलखुडो, गहत, कालीमार्सी, तीते फापर, मीठे फापर, भाडुले फापर, मैमास, सिमी, गुराँस लगायतका बालीहरू सङ्कलन गरेर राख्न र बजारीकरण गर्न थालिएको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!