
काठमाडौं, २९ पुस । भारतीय पत्रकार सुधीर चौधरीले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने बताएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएपछि जी न्युजको ‘डीएनए’ कार्यक्रममार्फत उनले सगरमाथा भारतको पनि भएको दाबी गर्दै विवादास्पद अभियानको घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीको अन्तर्वार्ता लिन शनिबार नेपाल आएका चौधरीले काला पत्थरबाट स्थलगत रिपोर्टसहित सामग्री तयार पारेका हुन् । उक्त सामग्री मंगलबार साँझ र बुधबार बिहान जी न्युजमा प्रसारित भएको थियो ।
सो रिपोर्टमा उनले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने बताएका हुन् । बेसक्याम्पमा पुगेर उनले भनेका छन्, ‘माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ, आज म यहाँ भन्न चाहन्छु कि माउन्ट एभरेस्टसँग भारतको के सम्बन्ध छ, वर्ष १८५२ मा राधानाथ सिक्दर, उनी पहिलो व्यक्ति थिए जसले माउन्ट एभरेस्टको उचाइ नापेका थिए, र सर्भे अफ इन्डिया डिपार्टमेन्टले सिकदरलाई त्यो काम दिएको थियो ।’
प्रशारित कार्यक्रममा पटक–पटक ‘नयाँ भारत नयाँ राष्ट्रवादको सच्चा पत्रकारिता, माउन्ट एभरेष्ट’ को अद्भूत दर्शनको वर्णन’ भनिएको छ । राधानाथ सिकदरले नै पहिलो पटक नाप लिएको दावी गर्दै उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्ने समेत बताए ।
‘त्यतिबेला अंग्रेजहरुको शासन थियो, र यहाँ काम गर्ने अग्रेजहरुले नै यसको नाम माउन्ट एभरेस्ट राखे, एन्ड्रु स्कट वले यसको नामाकरण गरेका हुन्, आज हामी यो भन्न चाहन्छौँ कि यो हिमालको नाम राधानाथ सिकदरको नामबाट हुनुपर्थ्यो, र राधानाथ सिकदरको नाममा नै हुनुपर्छ । र, भारतलाई यसको लागि एक अभियान चलाउन आवश्यक छ र हामीलाई पनि माउन्ट एभरेस्टमा आफ्नो दावी पेश गर्न आवश्यक छ सारा संसारको सामु’, उनले भनेका छन्, ‘आज म यहाँ राधानाथ सिकदरलाई याद गरिरहेको छु, कि सिकदरले यो हिमालको पहिलो पटक नाप लिए। त्यत्रो ठूलो काम गरे उनले र हामीलाई यस्तो लाग्छ कि यो माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ ।’
गत डिसेम्बर १ मै पनि चौधरीले सगरमाथाको नामबारे एउटा सामाग्री प्रस्तुत गरेका थिए । उनले त्यो कार्यक्रममा ‘एभरेस्टको नाम माउन्ट सिकदर किन नराखिएको ?’ भन्दै भारतीय गणितज्ञ राधानाथ सिकदरको नाममा सगरमाथाको नाम हुनुपर्ने बताएका थिए । त्यतिमात्रै होइन त्यसका लागि आफूहरुको अभियान नै सुरु भएको पनि चौधरीले दाबी गरेका थिए ।
त्यसअघि पनि जी न्यूजले नेपालप्रति अवाञ्छित र भ्रामक समाचारहरू सम्प्रेषण गर्दै आएको थियो । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरी नयाँ नक्सा जारी गरेपछि ती भू–भाग भारतको भएको दाबी गर्दै च्यानलले नेपालको राष्ट्रियतामाथि प्रहार हुने सामग्री प्रस्तुत गरेको थियो ।